नेपाल नामिबियासँग फेरि पराजित‚ आज स्कटल्यान्डसँग भिड्दै
आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबार राति भएको खेलमा नेपाल फेरि पनि नामिबियासँग पराजित भएको छ।
स्कटल्यान्डको कम्बसदुन न्यू ग्राउन्ड, एयरमा सम्पन्न खेलमा नेपाल ६३ रनले पराजित भएको हो। जारी सिरिजमा यसअघि पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो।
नामिबियाले जितका लागि नेपाललाई २०० रनको लक्ष्य दिएको थियो। जवाफमा नेपाल ३७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमा समेटियो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए। त्यस्तै‚ आसिफ शेखले ३४ रन जोड्दा आदिल आलमले २० रन बनाए। रोहित पौडेलले १७ तथा पवन सर्राफ १० रनमा अविजित रहे। आरिफ शेखले चार रन तथा देव खनाल र सोमपाल कामीले एक–एक रन जोडे भने कुशल भुर्तेल, कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले खाता खोल्न सकेनन्।
नामिबियाका बेर्नार्ड स्कोल्ट्जले पाँच विकेट लिए भने जान फ्राइलिङ्कले तीन विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १९९ रन बनाएको थियो। नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले सर्वाधिक ५३ रनको योगदान दिए। यस्तै‚ डेभिड बीएसले ३४ रन जोड्दा जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे। जान निकोल र रुबेन ट्रम्पेलम्यानले समान १९ रन बनाए।
नेपालका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए भने सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिए। बसिर अहमेदले एक विकेट लिए।
सिरिज अन्तर्गतको अन्तिम खेल नेपालले आज स्कटल्यान्डसँग खेल्नेछ। यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हराएको थियो। हारसँगै नेपाल लिग २ को अङ्कतालिकाको छैटौं स्थानमा झरेको छ। नेपालले १९ खेलमा १७ अङ्क जोडेको छ। नामिबिया भने १८ खेलमा १८ अङ्क जोडेर पाँचौं स्थानमा उक्लिएको छ।