कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दाबी
कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेश गरेका छन्।
मंगलबार अपराह्न प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष नेता शाहीले दाबी पेश गरेका हुन्। उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मुख्यमन्त्रीका लागि दाबी गरेका छन्।
सोमबार महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीबाट राजीनमा दिएपछि प्रदेश प्रमुख कलौनीले सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए। दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि प्रदेश प्रमुख कलौनीले मंगलबार साँझ ७ः३० बजेसम्मको समय दिएका छन्।
४० सदस्यीय प्रदेश सभामा अहिले ३५ सदस्य मात्रै छन्। जसमा माओवादीका १२, कांग्रेसका ६ र एकीकृत समाजवादीका तीन सांसद छन्। त्यस्तै, नेकपा (एमाले) का १३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद छन्।
सरकार गठनका लागि १८ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस, माओवादी र एकीकृत समाजवादीका गरी २१ सांसद हुन्छन्।