सरकारले नयाँ गाडी नकिन्ने, बिदाको दिन चलाउन सीडीओको अनुमति अनिवार्य
सरकारले स्वास्थ्य सेवा र निर्वाचन कार्यक्रमको प्रयोजन बाहेक चार पाङ्ग्रे सवारी साधन खरीद नगर्ने भएको छ।
सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०७८ अनुसार सरकारको स्रोत, वैदेशिक अनुदान तथा ऋणबाट यी दुई प्रयोजन बाहेक नयाँ गाडी खरीद गर्न नपाइने भएको हो। तर, मापदण्डले दुई पाङ्ग्रे सवारी साधनको खरीदमा भने रोक लगाएको छैन।
सार्वजनिक खर्च घटाउन सरकारले सरकारी गाडी सञ्चालनमा समेत कडाइ गरेको छ। अब सार्वजनिक बिदाको दिन सरकारी गाडी सञ्चालन गर्न अनुमति लिनुपर्नेछ।
मापदण्डमा सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाउन काठमाडौं उपत्यकाभित्र सम्बन्धित निकायको सचिव वा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र उपत्यका बाहिर सीडीओको अनुमति लिनुपर्नेछ।
खर्च कटौतीका लागि सरकारीले अनावश्यक विज्ञापन तथा शुभकामना छपाइमा पनि कडाइ गरेको छ। मापदण्डले सरकारी खर्चमा शुभकामना कार्ड र सन्देश प्रकाशन वा प्रसारणमा रोक लगाएको छ।
मापदण्डले आवासीय गोष्ठी वा कार्यशाला आयोजना गर्न रोक लगाएको छ।
विशिष्ट व्यक्ति बाहेक सरकारको प्रतिनिधित्व गरी विदेश जाने प्रतिनिधि मण्डलमा तीन जनाभन्दा बढी व्यक्ति समावेश समेत गर्न नपाइने भएको छ। तीनभन्दा बढी व्यक्ति समावेश गर्नुपर्ने भए अर्थ मन्त्रालयको अनुमति लिनुपर्नेछ।
त्यसैगरी, विदेशी पाहुनाका लागि बाहेक सरकारी खर्चमा भोजभतेर गर्न पाइनेछैन।
मापदण्डले प्रोत्साहन भत्ता, अतिरिक्त समय काम गरे बापतको भत्ता, खाना वा खाजा भत्तामा पनि रोक लगाएको छ। तर, यो बुँदा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खटिएका जनशक्तिमा भने लागू हुनेछैन।