चुनाव नहुँदै राष्ट्रिय दलको मान्यता पाएका पार्टीको संख्या दोब्बर
थ्रेसहोल्ड राखेपछि घटेको राष्ट्रिय मान्यता प्राप्त दलको संख्या फेरि बढेको छ।
नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल निर्वाचन आयोगमा दर्ता भएसँगै राष्ट्रिय मान्यता प्राप्त दलको संख्या ६ पुगेको हो। यसअघि तीन वटा दलमा मात्रै राष्ट्रिय मान्यता प्राप्त थिए। जसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) थिए।
२३ फागुन २०७७ मा सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताएपछि राष्ट्रिय दलको संख्या चार पुगेको थियो।
राष्ट्रिय दलको मान्यता पाउन देशभरिबाट समानुपातिकमा ३ प्रतिशत मत ल्याउनैपर्ने र संघीय संसद्मा कम्तीमा एक सीट पहिलो निर्वाचित हुने प्रणालीबाट जित्नुपर्ने व्यवस्था छ। ३ प्रतिशत मत ल्याउन नसकेका दलबाट निर्वाचित सांसद पनि स्वतन्त्रको हैसियतमा रहन्छन्।
राष्ट्रिय दलको मान्यता पाएका पार्टी दलहरू :
१) नेकपा (एमाले), अध्यक्षः केपी शर्मा ओली
२) नेपाली कांग्रेस, सभापतिः शेरबहादुर देउवा
३) नेकपा (माओवादी केन्द्र), अध्यक्ष: पुष्पकमल दाहाल
४) नेकपा (एकीकृत समाजवादी), अध्यक्षः माधवकुमार नेपाल
५) जनता समाजवादी पार्टी नेपाल, अध्यक्षः उपेन्द्र यादव
६) लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, अध्यक्षः महन्थ ठाकुर