टोकियो ओलम्पिक : अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा
टोकियोमा जारी ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ। चीन र जापानलाई उछिन्दै अमेरिका शीर्ष स्थान ओगट्न सफल भएको हो।
अमेरिकाले अहिलेसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित ३५ पदक प्राप्त गरेको छ। चीन दोस्रो तथा जापान तेस्रो स्थानमा छन्।
चीनले १३ स्वर्ण, ६ रजत र नौ कास्य पदक प्राप्त गरेको छ भने जापान १३ स्वर्ण, चार रजत र पाँच कास्य प्राप्त गर्न सफल भएको छ।
साथै, सात स्वर्ण, ११ रजत र सात कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा छ।
यस्तै, अस्ट्रेलिया सात स्वर्ण, दुई रजत र नौ कास्य पदकका साथ पाँचौँ स्थानमा छ। बेलायत पाँच स्वर्ण, ६ रजत र पाँच कास्यसहित छैटौं, दक्षिण कोरिया चार स्वर्ण, दुई रजत र पाँच कास्यका साथ सातौं, जर्मनी तीन स्वर्ण, तीन रजत र पाँच कास्य जित्दै आठौं, फ्रान्स तीन स्वर्ण, तीन रजत र तीन कास्यका साथ नवौँ तथा इटाली दुई स्वर्ण, सात रजत र नौ कास्यका साथ पदक तालिकाको १०औं स्थानमा छ।
टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ६३ देशले पदक प्राप्त गरेका छन्। नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन्। तीमध्ये सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह प्रतियोगिताबाट बाहिरिसकेका छन्।
टोकियो ओलम्पिकमा अब एथलेटिक्सकी सरस्वती चौधरीले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ। उनले शुक्रबार खेलमा प्रतिस्पर्धा गर्नेछिन्।