निर्वाचित सांसदलाई हटाउने निर्णय निरंकुशताको पराकाष्ठा : प्रभु साह
शहरी विकासमन्त्री प्रभु साहले आफूहरूलाई सांसद पदबाट बर्खास्त गर्ने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको निर्णयलाई प्रतिगमन भनेका छन्।
प्रतिनिधि सभा सदस्यबाट हटाउन संघीय संसद् सचिवालयमा पत्राचार गरेको भोलिपल्ट बुधबार साहले माओवादी केन्द्रका अध्यक्ष दाहालप्रति कडा टिप्पणी गरेका हुन्।
“जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक/कानूनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिका रूपमा क्रियाशील सांसदहरूको पदमाथि यसरी अनुचित रूपमा हमलाको दुष्प्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो,” मन्त्री साहले फेसबूकमा लेखेका छन्।
दाहालको निर्णयलाई उनले निरंकुशताको पराकाष्ठा र लोकतन्त्रको उपहास समेत भनेका छन्।
“आफू चुनाव जित्नलाई नेकपा (एमाले) सँग एकता/सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख्नेहरूले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचत जनप्रतिनिधिमाथि कथित दल त्यागको कानूनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन,” उनले लेखेका छन्।
साहसँगै उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई पनि सांसदबाट बर्खास्त गर्न माओवादीले संसद् सचिवालयमा पत्राचार गरिसकेको छ।
राष्ट्रिय सभा माओवादी संसदीय दलका नेता दीनानाथ शर्माका अनुसार, माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई पनि सांसदबाट बर्खास्त गर्ने निर्णय गरिसकेको छ। थापा राष्ट्रिय सभाका सांसद हुन्।
माओवादी केन्द्रका अध्यक्ष दाहालले सोधेको स्पष्टीकरणको जवाफमा मन्त्री साहले पठाएको पत्र यस्तो छः