थप ३७८ जनामा संक्रमण पुष्टि, ४९९ डिस्चार्ज, तीन जनाको मृत्यु
शनिबार थप ३७८ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालयले राजधानी उपत्यकामा ६२ जना सहित ३७८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।
मन्त्रालयका अनुसार, काठमाडौंमा ५६, भक्तपुरमा तीन जना र ललितपुरमा तीन जनामा संक्रमण पुष्टि भएको छ। पर्सामा ५५, सर्लाहीमा ३६, महोत्तरीमा १५, धनुषामा १८, मोरङमा ४९ जनामा संक्रमण पुष्टि भएको छ। शनिबार थपिएको सहित संक्रमित संख्या २२ हजार ५९२ पुगेको छ।
शनिबार ४९९ जना संक्रमित निको भएर घर फर्किएका छन्। संक्रमित निको हुनेको संख्या १६ हजार ३१३ पुगेको छ। उपचारत संक्रमित संख्या भने ६ हजार २०६ रहेको छ।
क्वारेन्टिन बस्नेको संख्या १० हजार ७९२ छ। शनिबार सात हजार ८८८ जनाको पीसीआर रिपोर्ट आएको हो। मन्त्रालयले थप तीन जनाको मृत्यु भएको जनाएको छ। शनिबार थप तीन जनाको मृत्यु भएपछि नेपालमा मृतक संख्या ७३ पुगेको छ।
काठमाडौं, मोरङ र पर्सामा एक–एक जनाको मृत्यु भएको छ। काठमाडौं टोखा नगरपालिका–६ की ४१ वर्षीय महिलाको पाटन अस्पतालमा २३ साउनमा मृत्यु भएको हो।
पर्सामा थप एक जनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–३ का ७४ वर्षीय पुरुषको २३ साउनमै मृत्यु भएको हो। मधुमेह पीडित ती पुरुषको गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यो सँगै पर्सामा मृत्यु हुनेको संख्या २० पुगेको छ।
मोरङको विराटनगर महानगरपालिका–९ का ५८ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ। निमोनियाको समस्या देखिएका ती पुरुषको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।