बाजुराका पाँच बेसहारा बालबालिकालाई एसओएसले संरक्षण गर्ने
बिचल्लीमा परेका बाजुराको बडीमालिका– ५ मना गाउँका पाँच भाइबैनीलाई एसओएस बालग्राम नेपालले संरक्षण गर्ने भएको छ ।
बाबुको क्यान्सरका कारण मृत्यु र आमाले दोस्रो विवाह गरेपछि बाजुराका १३ देखि ४ वर्षका बालबालिका बेसहारा अवस्थामा छन् । उनीहरुका लागि शिक्षा र त्यतिञ्जेलसम्मको आवासको व्यवस्था एसओएस बालग्रामले गर्ने भएको हो ।
ती बालबालिकाहरुका बारे हिमाल खबरमा समाचार प्रकाशित भएपछि देश–विदेशबाट आर्थिक सहयोग समेत जुटेको छ । १ असोज सम्म बालबालिका लागि रु. ४ लाख संकलन भइसकेकोे बडिमालिका नगरपालिका मेयर पदम बडुवालले जानकारी दिए ।
सञ्चारमाध्यमबाट बालबालिका निकै असहज अवस्थामा रहेको थाहा पाएपछि आफ्नो संरक्षणमा लिएको एसओएस बालग्राम, धनगढीका प्रमुख पदम हमालले बताए ।
उनका अनुसार पाँचै भाइबैनीलाई एसोएस बालग्राम भक्तपुरमा राखेर पढाइने छ ।
बालबालिकाको सहयोगका लागि बेलायतमा रहेकी ईशा गुरुङ, काठमाडौंमा रहेकी खुशी राईले समेत सहयोग अभियान चलाएका थिए ।
तीन वर्षअघि मनाका राम बहादुर साउदको ४३ वर्षको उमेरमा क्यान्सरका कारण मृत्यु भएको थियो । पतिको मृत्यु भएको १० महिना नपुग्दै पत्नी बिर्मा साउदले अर्को विवाह गरेपछि उनीहरुका पाँच छोराछोरी विचल्लीमा परेका थिए । अब रामबहादुर र बिर्माका पाँच छोराछोरी १३ वर्षीया पार्वती, ११ वर्षीया सोबिना, ९ वर्षीया अस्मिता, ७ वर्षीय सुवास र ४ वर्षीय रोशनले संरक्षण र स्याहार पाउने भएका छन् ।
-प्रकाश सिंह, बाजुरा