केन्द्र विवादले स्थानीय तहको कार्यालय सञ्चालन भएन
स्थानीय तह लागू भएको एक महिना पूरा भए पनि नुवाकोटको बेलकोटगढी नगरपालिकाको कार्यालय अझै सञ्चालनमा आएको छैन ।
कार्यालय शुभारम्भ नहुँदा सर्वसाधारणले राज्यले प्रवाह गर्ने सेवा पाउनबाट वञ्चित भएका छन् । स्थानीय निकाय भङ्ग भएसँगै विभिन्न ६ गाविस मिलेर निर्माण भएको बेलकोटगढी नगरपालिकाले प्रवाह गर्ने सेवा एक महिना हुँदा पनि शुरु नहुँदा नागरिकहरू सानो कामले सदरमुकाम विदुर धाउन बाध्य छन् ।
सरकारले नगरपालिकाको कार्यकारी अधिकृत चयन गरेको हरिप्रसाद चापागाईं तोकिएको केन्द्रमा भौतिक पूर्वाधार पर्याप्त नभएको भन्दै जान अस्वीकार गर्दा बेलकोटगढी नगरपालिकाका नागरिक सदरमुकाम धाउन बाध्य भएका छन् ।
जिल्लाको अन्य स्थानको कार्यालय स्थापना भइसकेको लामो समय भइसक्दा बेलकोटगढी नगरपालिकाको कार्यालय शुरु गर्न केन्द्र कहाँ राख्ने भन्ने विवादले समस्या भएको जिल्ला समन्वय समिति नुवाकोटका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले बताए । “कार्यालय सञ्चालनका लागि सरोकारवालासँग छलफल भइरहेको छ”, स्थानीय विकास अधिकारी पण्डितले भने, “जनतालाई सेवा सहज बनाउन सम्पर्क कार्यालय मात्र भनेपनि शुरु गर्न लागिरहेका छौँ ।”
कार्यालय सञ्चालनका लागि केन्द्र तोकिएको स्थान बाघाखोरमा ३२ कोठे सामुदायिक आवास भवन भए पनि विद्युत्, सञ्चार, बजारीकरण, व्यवस्थित सडक नभएको भन्दै कार्यकारी अधिकृत जान अस्वीकार गर्दै आएका छन् । विकासको पर्याप्त सम्भावना रहेको कुमारी, दुईपिपल, रातमाटे, जिलिङ, बेलकोट र मदानपुरको वडा नम्बर ७ र ८ बाहेकको बाँकी भूभाग मिलाएर बेलकोटगढी नगरपालिकाका र त्यसको केन्द्र जिलिङको बाघाखोर कायम गरी बेलकोटगढी नगरपालिकाको स्थापना गरिएको छ । नुवाकोटमाा १२ वटा स्थानीय तह रहेका छन् । रासस