दाहालको असफल चीन दौडाहा
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले चीनका राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री दाहालले चीनियाँ राष्ट्रपतिसँगको भेटघावर्ताका क्रममा खुल्ला र स्पष्ट छलफल भएको बताएका छन् । बेइजिङस्थित ग्रेट अफ दि पिपुलमा १४ चैत दिउसो भएको भेट महत्वपूर्ण र उपलब्धीमूलक रहेको र उच्चस्तरीय छलफलले नेपाल चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको प्रधानमन्त्री दाहालले बताएका छन् ।
भेटमा प्रधानमन्त्री दाहालले उठाएका सबै विषयमा चीनका राष्ट्रपति सीले सकारात्मक जवाफ दिएको जनाएको छ । छलफल सोचेभन्दा पनि माथि रहेको प्रधानमन्त्री दाहालले बताएका छन् ।
नेपालले उठाएका सबै विषयमा सकारात्मक सवाफ दिदै चीनियाँ राष्ट्रपतिले नेपालको राजनीतिक स्थायित्व, विकास, सम्वृद्धिसहित पूर्वाधार विकास, रेल्वे र तातोपानी नाका खोल्ने जस्ता विषयमा चासो प्रकट गरेको जनाएको छ ।
तर, प्रम दाहालको चीन भ्रमण अपेक्षाकृत सफल नभएको विश्लेषकहरुले टिप्पणी गरेका छन् । चीनको बेइजिङ इन्टरनेसनल स्टडिज् युनिभर्सिटीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्राध्यापक सु लियाङले प्रम दाहालले व्यक्तिगत रुपमा चीनसँगको सम्बन्ध सुधारको प्रयत्न गरेपनि भ्रमणबाट द्धिपक्षीय सम्बन्ध सुधारमा ठूलो प्रगति नभएको बताएका छन् ।
परराष्ट्रमन्त्री प्रकाशशरण महतले नै यो भ्रमण सद्भाव भ्रमण मात्रै भएको भनेर अथ्र्याएका छन् । प्रम दाहाल आफैंले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको औपचारिक सामुहिक छलफललाई नै भ्रमणको उपलब्धिका रुपमा अथ्र्याएकाले पनि उनको उत्तर भ्रमण फलदायी नभएको संकेत गर्छ ।
प्रधानमन्त्री भएपछि राजकीयसहित दुई पटक भारत पुगेका दाहालको चीनले राजकीय भ्रमणका लागि निम्ता नगर्दा छटपटी बढेको थियो ।
जबकि, भारतले धाप मारेपछि प्रधानमन्त्री बन्न पाएको आरोप चिर्न तथा चीनसँग पनि उत्तिकै राम्रो सम्बन्ध रहेको सन्देश दिन दाहाललाई उत्तरी छिमेकको भ्रमणमा जानु आवश्यक थियो ।
त्यसैले राजकीय भ्रमणको निम्तो नपाएपनि हेइनान् प्रान्तमा भएको पोआओ सम्मेलनको मौकामा दाहाल बेइजिङ पुगिछाडे ।
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट्नु नै मुख्य उद्देश्य रहेको यस भ्रमणका निम्ति नेपालका तर्फबाट ठूलो गृहकार्य गरिएको थिएन ।
शुरुमा त राष्ट्रपति सीसँग भेट हुने÷नहुने समेत निश्चित थिएन । त्यसैले भ्रमणमा ठूला सम्झौता पनि भएनन् ।
दाहालले चीनको महत्वाकांक्षी वान बेल्ट वान रोड प्रति पनि ठोस दृष्टिकोण दिन त सकेनन् नै यसमा हस्ताक्षरको प्रष्ट प्रतिवद्धता पनि दिएनन् ।
यसले चीनको दाहालप्रतिको विश्वास भरपर्दो बनाउन सकेन । दाहाल चीन जाँदा उनका चिनियाँ समकक्षी ली खस्याङ् विदेश भ्रमणमा भएकोले पनि समकक्षीसँगको साक्षात्कार जुटेन ।
नेपालको स्थायी शक्तिसँग सम्बन्ध राख्न रुचाउने चीनले नेपालमा राजसंस्था रहुन्जेल उसैसँग ‘डिल’ गरेपनि त्यसपछि भरपर्दो शक्ति भेटाएको छैन ।
माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादीप्रति लचिलो बनेपनि दाहालको भारतप्रतिको सन्देहास्पद लसपसले चीनका नजरमा दाहालले विश्वास तोडेको देखिन्छ ।
अन्य छिमेकीसँग सम्बन्ध बलियो बनाइरहेको चीनका लागि नेपाल प्राथमिकतामा छैन । उसका नेपालसँगका स्वार्थहरु पनि खासै छैनन् ।
त्यसैले, अहिले चीनले नेपालमा सक्रिय कुटनीति भन्दा पर्ख र हेरको कुटनीति समातेको छ । ऊ सबै पक्षसँग समान सम्बन्ध राख्ने र कसैलाई पनि नचिढ्याउने रणनीतिमा छ ।
दाहालको भ्रमणले पनि चीनसँगको सम्बन्धमा ठूलो प्रभाव सिर्जना सकेन ।