गण्डकीमा समामुखलाई पनि जोडेर मुख्यमन्त्रीमा एमालेका अधिकारीले गरे दाबी
गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले)का प्रदेश सभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेश गरेका छन्।
प्रदेश सभाका ३१ सदस्यको समर्थन जुटाएर प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष दाबी पेश गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले बताए। उनका अनुसार एमालेका २२, नेकपा (माओवादी केन्द्र)का सभामुख सहित आठ र एक स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन बुझाइएको छ।
६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री बन्न ३१ प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ। तर अधिकारीले सभामुखलाई पनि गणना गरेका छन्। जबकि कोशी प्रदेशमा सभामुखको पनि हस्ताक्षर बुझाएर मुख्यमन्त्री बन्दा सर्वोच्च अदालतले नियुक्ति बदर गरेको थियो।
गत बिहीबार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख भट्टले चैत २७ गतेसम्म मुख्यमन्त्रीमा दाबी गर्न समय दिएका छन्।
नयाँ गठबन्धन बनेसँगै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो। दुई सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने प्रदेश सरकारलाई समर्थन गर्ने/नगर्ने विषयमा निर्णय गरेको छैन।
यो पनि पढ्नुहोस् : कोशीकै बाटोमा गण्डकी, मध्यावधिको जोखिम