प्रागको विश्वविद्यालयमा २४ वर्षीय युवाले मच्चाएको आतंक
चेक रिपब्लिकका २४ वर्षीय एक युवाले बिहीबार आफ्नै बुबालाई गोली हानी हत्या गरे, त्यसपछि राजधानी प्रागको चार्ल्स विश्वविद्यालयका १४ जना विद्यार्थीलाई पनि गोली हानेरै मारे र २५ जनालाई घाइते बनाए।
प्रहरीका अनुसार यो घटना चेक रिपब्लिककै अहिलेसम्मकै खतरनाक हो। गोलीबारीका पीडितहरूको सम्झनास्वरूप चेक सरकारले डिसेम्बर २३ मा देशव्यापी एकदिने शोक घोषणा पनि गरेको छ। “अनाहकमा यति धेरै युवा जीवन गुमेकामा म गहिरो दुःख व्यक्त गर्दछु,” चेक राष्ट्रपति पिटर पाभेलले भने।
गोलीबारी हुनुअघि नै विश्वविद्यालय परिसरमा प्रहरीले अत्यधिक संख्यामा हतियार फेला पारेको थियो। आफ्नै ज्यान लिने उद्देश्यले सन्दिग्ध व्यक्ति प्रागतर्फ अघि बढ्दै छन् भनेर प्रहरीले सूचना पनि पाएको थियो। त्यसको केही समयपछि नै ती बन्दूकधारीका बुबा मृत फेला परेका थिए।
घटनास्थल। तस्वीर : बीबीसी
आक्रमणका दौरान विश्वविद्यालयका कर्मचारीलाई कोठाभित्रै बसी सुरक्षित रहन पनि भनिएको थियो। स्थानीय समय अनुसार दिउँसो ३ बजे विश्वविद्यालयको ‘फ्याकल्टी अफ आर्टस्’ को भवनमा गोलीबारी भएको थियो।
प्रहरीका अनुसार अहिले ती आक्रमणकारीको पनि ज्यान गइसकेको छ। बिहीबार साँझको ‘ब्रिफिङ’ मा चेकका प्रहरी प्रमुख र आन्तरिक मामिला मन्त्रीले ती आक्रमणकारी फ्याकल्टी अफ आर्टस्कै विद्यार्थी भएको बताएका थिए। उनीहरूका अनुसार ती व्यक्ति प्रागभन्दा २१ किलोमिटर पर एक गाउँका स्थानीय हुन्। उनी के उद्देश्यले आक्रमणमा उत्रिए भन्ने खुलेको छैन।
अधिकारीहरूको प्रारम्भिक सूचना अनुसार घटनामा कुनै पनि प्रहरी अधिकारी घाइते भएका छैनन्। प्रहरीले गत साता प्राग नजिकैको एक जंगलमा भएको दुई जनाको हत्याको घटनामा पनि ती व्यक्ति नै जिम्मेवार हुन सक्ने हिसाबले अनुसन्धान गरिरहेको छ।
- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा