नाइजरमा सैन्य ‘कू’
निरन्तर खस्कँदो सुरक्षा अवस्था र खराब सामाजिक तथा आर्थिक व्यवस्थापनका कारण कू गरिएको नाइजर सेनाले बताएको छ।
पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैन्य ‘कू’ भएको छ। नाइजरको राष्ट्रिय टेलिभिजन मार्फत त्यहाँको सेनाले बुधबार कू घोषणा गरेको हो।
नाइजर सेनाका अनुसार उनीहरूले संविधान खारेज गरेका छन् भने राज्यका सबै संस्था तथा निकायहरू निलम्बन गरेका छन्। यस्तै, आफ्नो सीमा बन्द गरेको पनि सेनाले बताएको छ।
नाइजर सेनाका कर्नेल-मेजर अमादू अब्द्रामानेले टेलिभिजनमा सम्बोधन गर्दै भने, “सुरक्षा बलहरूले तपाईंहरू परिचित रहेको शासनको अन्त्य गर्ने निर्णय गरेको छ।”
नाइजरका राष्ट्रपति मोहम्मद बजूमलाई अपदस्थ गरिएको छ भने हाल उनी सेनाको नियन्त्रणमा छन्। उनीप्रति वाशिङ्टनको ‘अटल समर्थन’ रहेको अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लिङकेनले फोन मार्फत बताएका छन्। ब्लिङकेनले बजूमको रिहाइको पनि माग गरेका छन्।
यस्तै, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले पनि आफूले राष्ट्रपति बजूमसँग संवाद गरेको र संयुक्त राष्ट्रसंघको पूर्ण समर्थन प्रस्ताव गरेको बताएका छन्।
पश्चिम अफ्रिकामा आतङ्कवाद विरुद्धको लडाइँमा राष्ट्रपति बजूम पश्चिमाहरूको महत्त्वपूर्ण सारथि थिए। नाइजर सेनाले बजूमको सुरक्षाको प्रत्याभूति दिएको छ।
नाइजर सेनाका अनुसार निरन्तर खस्कँदो सुरक्षा अवस्था र खराब सामाजिक तथा आर्थिक व्यवस्थापनका कारण कू गरिएको हो। सेनाले कुनै प्रकारको वैदेशिक हस्तक्षेप नगर्न पनि चेतावनी दिएको छ।
नाइजरको सीमा उत्तर-पूर्वमा लिबिया, पूर्वमा चाड, दक्षिणमा नाइजेरिया, दक्षिण-पश्चिममा बेनिन र बुर्किना फासो, पश्चिममा माली र पश्चिम-उत्तरमा अल्जेरियासँग जोडिएको छ। -एजेन्सी