भाटभटेनीका सञ्चालक गुरुङ सहित चार जनालाई सात दिन हिरासतमा राख्न अनुमति

ललिता निवास प्रकरणमा पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।
म्याद थपका लागि बुधबार जिल्ला अदालत, काठमाडौंमा पेश गरिएकामा अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
कीर्ते गरेर सरकारी जग्गा हिनामिना गरेको आरोपमा प्रहरीले असार १२ मा पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरेको थियो। सर्वोच्चबाट स्टेअडर ल्याएको पाइएपछि पक्राउ परेकामध्ये कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गरेर छाडेको छ।
२०४९ देखि २०६९ सालसम्म सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो। सोही प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ।
ललिता निवास प्रकरणमा यसअघि ३०० जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकीलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो, तर सरकारी वकीलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो। सीआईबीले फेरि अनुसन्धान थालेको हो।