महानगरले हटाउन खोजेपछि सुकुम्बासी बस्ती तनावग्रस्त
काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव उत्पन्न भएको छ।
सोमबार सुकुम्बासी हटाउन महानगरको टोली थापाथली पुगेको थियो। महानगरको टोलीले बस्ती हटाउन खोज्दा सुकुम्बासीले प्रतिकार गरेका छन्। उनीहरूले विरोध प्रदर्शन गरिरहेका छन्।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं महानगरसँगको समन्वयमा कात्तिक २५ गते सूचना जारी गरी बागमती लगायत नदी किनारका बस्ती हटाउन १० दिनको म्याद दिएको थियो।
यसको सुकुम्बासीले विरोध गर्दै आएका थिए। उनीहरूले वैकल्पिक बसोबासको व्यवस्था गर्न माग गर्दै प्रदर्शन पनि गरेका थिए।
आज महानगरको टोली बस्ती हटाउन पुगेपछि उनीहरूले विरोध जनाएका छन्। अर्को व्यवस्था नभएसम्म बस्ती नछोड्ने उनीहरूको भनाइ छ।