सर्वाधिक कर तिर्नेमा सूर्य नेपाल, व्यक्तितर्फ विजयकुमार शाह
सूर्य नेपाल कम्पनी आर्थिक वर्ष २०७७/७८ मा सर्वाधिक कर तिर्ने करदाता बनेको छ।
चुरोट, सलाई, धूप र चकलेटको उत्पादक यस कम्पनीले सबैभन्दा धेरै कर तिरेको हो। यो कम्पनी आन्तरिक राजस्व विभागबाट सम्मानित भएको छ।
व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिरेर सम्मानित हुनेमा विजयकुमार शाह छन्। उनी मदिरा उत्पादनको अग्रणी समूह जावलाखेल ग्रूप अफ इन्डस्ट्रिजका अध्यक्ष हुन्।
यो समूह अन्तर्गत जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी लगायतका कम्पनी छन्। उनी यसअघि पनि उच्च कर तिरेकोमा सम्मानित भएका थिए।
आयकरतर्फ नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)ले सबैभन्दा धेरै कर तिरेको छ। त्यसै गरी, गोर्खा ब्रुअरीले सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट) तिरेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई आन्तरिक राजस्व विभागले विभिन्न १५ विधामा सम्मान गरेको छ। विभागले आयोजना गरेको समारोहमा बुधबार यी सम्मान प्रदान गरिएको हो।
सम्मानित हुनेमा निर्याततर्फ शिवशक्ति घ्यू र राजेश मेटल क्राफ्ट, कृषितर्फ ओसीबी फिड्स एन्ड फूड, सहकारीतर्फ छिमेक लघुवित्त र ब्यांकतर्फ नबिल ब्यांक छन्। यी संस्थाले आआफ्ना क्षेत्रमा सबैभन्दा धेरै कर तिरेका थिए।
आईएमई रेमिटेन्स कम्पनीले सबैभन्दा धेरै कर तिर्ने रेमिटेन्ट कम्पनीको सम्मान पाएको छ। वस्तु व्यापारतर्फ हंसराज हुलास प्रालि, ऊर्जातर्फ चिलिमे जलविद्युत् कम्पनी, मध्यमस्तरीय करदाताका रुूमा नेपाल स्टक एक्सचेन्जले सम्मान पाएका छन्।
बीमातर्फ नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्यतर्फ नोबेल टिचिङ अस्पताल र पर्यटनतर्फ मनकामना केबलकारले उच्च कर तिरेकोमा सम्मान पाए।
विभागले यी संस्था र व्यक्तिले कति कति कर तिरे भनेर खुलाएको छैन।