डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजको माग गरी निर्वाचन आयोगद्वारा सर्वोच्चमा निवेदन
डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको छ।
निर्वाचन आयोगले शुक्रबार सर्वोच्चमा निवेदन दिएको हो। निवेदनमा यसअघि सर्वोच्चले दिएको अन्तरिम आदेश खारेजीको माग गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. कार्की ललितपुर-३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेकी छन्। उनी लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले उम्मदेवारी खारेज गरेको थियो।
त्यस विरुद्ध उनी कात्तिक १४ गते सर्वोच्च अदालत पुगेकी थिइन्। उनले निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेकी थिइन्।
उनको रिटमाथि कात्तिक १५ गते सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश दिएको थियो। सर्वोच्चको आदेशमा भनिएको थियो, ‘रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदक डा. तोसिमा कार्कीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ ललितपुरको उम्मेदवारी अयोग्य हुने गरी निर्वाचन आयोग नेपालले मिति २०७९/०७/१२ मा गरेको निर्णय कार्यान्वयन नगर्नू, नगराउनू, निवेदकको उम्मेदवारी खारेज नगर्नू, नगराउनू, निजको उम्मेदवारी समेतलाई यथावत् कायम राखी निर्वाचन प्रक्रिया अगाडि बढाउनू भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ।’
यससँगै सर्वोच्च अदालतले कारण देखाउ आदेश पनि दिएको थियो। सर्वोच्चले ‘यसमा के कसो भएको हो? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनुनपर्ने हो? आदेश जारी हुनुनपर्ने भए आधार कारण सहित’ लिखित जवाफ पेश गर्नू भनेको थियो। यसका लागि बाटो म्याद बाहेक १५ दिनको समय दिइएको थियो।
तर, निर्वाचन आयोगले कारण पेश गर्नुको सट्टा अन्तरिम आदेश खारेजीको माग गर्दै निवेदन दिएको छ।