चुनावपछि देउवालाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्दैन: प्रकाशशरण महत
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चुनावपछि पनि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका छन्।
बुटवलमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै महतले मंसीर ४ को निर्वाचनपछि सबैभन्दा धेरै सीट कांग्रेसले ल्याउने भएकाले ठूलो पार्टीका तर्फबाट देउवालाई नै प्रधानमन्त्रीका रूपमा अघि सारिने उनको भनाइ थियो।
“कांग्रेसको नेतृत्वमा सरकार बन्छ। शेरबहादुरजी प्रधानमन्त्री बन्ने कुरामा कुनै दुईमत छैन। यसलाई भट्याइरहनु आवश्यक छैन,” महतले भने।
कांग्रेसभित्रैबाट देउवालाई प्रधानमन्त्रीमा चुनौती आउने सक्ने प्रश्नमा महतले त्यस्तो नहुने जिकिर गरे। महतले भने, “कांग्रेसभित्र पनि देउवालाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्दैन।”
कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजक समेत रहेका महतले गठबन्धनका कारण कम सीटमा उम्मेदवारी दिएको भए पनि कांग्रेस नै ठूलो पार्टी बन्ने दाबी गरे।