यी प्रमाणले देखाउन सक्छन् सन्दीप लामिछानेलाई दोषी
नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोप लागेका चर्चित क्रिकेटर सन्दीप लामिछाने विरुद्ध काठमाडौं जिल्ला सरकारी वकीलको कार्यालयले १० देखि १२ वर्ष कैद सजाय माग्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
सन्दीपलाई पाँच लाख रुपैयाँ जरिवाना गर्न र पीडित बालिकालाई उचित क्षतिपूर्ति दिलाउन पनि माग गरिएको छ। प्रहरीमा जाहेरी पर्दा क्रिकेट खेल्न क्यारेबियन मुलुकमा रहेका २२ वर्षे सन्दीप त्यसपछि फरार भएका थिए।
प्रहरीले इन्टरपोल मार्फत ‘डिफ्युजन नोटिस’ जारी गरेपछि उनी २० असोजमा नेपाल फर्किएर आत्मसमर्पण गरेका हुन्। ५ भदौको राति नाबालिकालाई लामिछानेले गौशालास्थित होटल काठमाडौं इनमा पुर्याएर जबर्जस्ती करणी गरेको आरोप छ। उक्त राति सन्दीपले दुई पटक जबर्जस्ती करणी गरेको अभियोग छ।
यद्यपि, अनुसन्धान अधिकृतसामु सन्दीपले त्यो कुरा नकारेका छन्। पीडितले प्रहरीमा गरेको कागजमा सन्दीपले ‘मानसिक ताजगी’ हुन्छ भन्दै घुम्न कर गरेपछि आफू गएको बताएकी छिन्। बेलुकी ७ बजे भेटेर सन्दीपको बा२६च ४४४४ नम्बरको निशान एक्स ट्रेल मोडलको एसयूभी गाडीमा नगरकोटको बोजिनी रिसोर्टमा पुगेको दुवैले स्विकारेका छन्। तर, सन्दीपले बालिकाको करबलमा आफू घुम्न निस्किएको जिकिर गरेका छन् भने बालिकाले सन्दीपले हत्ते गरेपछि जान बाध्य भएको बताएकी छन्।
दुवैले घटनाका धेरैजसो तथ्य भने अनुसन्धान अधिकृतसामु स्विकारेका छन्। जस्तो- उनीहरूबीच अर्का क्रिकेटर देव खनाल मार्फत चिनजान भएको, त्यसपछि स्न्यापच्याटमा कुराकानी हुन थालेको, नगरकोट पुगेको र त्यहाँबाट फर्किएपछि गौशालाको होटलमा रात बिताएको। तर, नगरकोट जाने र गौशालामा रात बिताउने विषयमा भने उनीहरूले एकअर्कालाई दोषारोपण गरेका छन्। सन्दीपले गौशालाको होटलमा आफूहरूबीच बिहान पौने चार बजेसम्मै एकअर्काका व्यक्तिगत विषयमा गफगाफ मात्र भएको जनाउँदै बलात्कारको आरोप मिथ्या भएको बताएका छन्। आफू पटक पटक क्रिकेट टीम बसेको होटल हायातमा जान खोज्दा बालिकाले रोकेको दाबी सन्दीपको छ।
आफूले कुर्सीमा बसेरै उक्त रात बिताएको पनि सन्दीपले प्रहरीसामु बताएका छन्। उनले भनेका छन्, ‘म धेरै बेर कुर्सीमा बसेको देख्दा निजले (पीडित) मलाई बेडमा आएर बस्न समेत आग्रह गरेकोमा, होइन म यहीं ठीक छु भन्दै निजको आग्रहलाई अस्वीकार गरी कुर्सीमै बसें। मैले मेरो मोबाइलमा बिहान ६ बजेको घण्टी लगाई कुराकानी गर्दागर्दै कुर्सीमै निदाएँ।’
यसका साथै बालिकाले आफू १९ वर्ष पुगे पनि भविष्यमा सजिलो हुन्छ भनी उमेर घटाउने कागजात बनाएको बताएको सन्दीपले दाबी गरेका छन्। सन्दीपका कानूनी प्रतिरक्षा गर्ने वकीलहरूले पनि सन्दीपलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्न अदालत पुर्याउन त्यहीं पुगेर यो विषयलाई जोड दिएर उठाएका थिए। तर, नागरिकताबाट भने घटना हुँदा पीडित १७ वर्ष दुई महीना १८ दिनकी रहेको अभियोगमा उल्लेख छ।
तर, जाहेरीकर्ता बालिकाले भने सन्दीपले नगरकोटबाट फर्कंदैखेरी सन्दीपले आफ्ना संवेदनशील अङ्ग छुन खोजेको बताएकी छन्। गौशालाको होटलमा पुगेपछि आफू निदाएको वेला मध्यराति १२ बजेर २५ मिनेटमा सन्दीपले जर्बजस्ती करणी गरेको आरोप लगाएकी छिन्। त्यसको एक घण्टापछि पुनः जबर्जस्ती करणी गर्दा भने आफू रोएको र सन्दीपले नछोडेको पीडितले बताएकी छिन्।
बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनले पनि बालिकाको यो भनाइलाई पुष्टि गर्ने आधार दिन्छ। थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको स्वास्थ्य जाँच प्रतिवेदनबाट पीडितको योनि झिल्ली च्यातिएको पुरानो खत देखिएको उल्लेख छ। यसलाई सबैभन्दा बलियो प्रमाण मानिएको छ। त्यस बाहेक गौशालाको होटलका १२ वटा सीसीटीभी फूटेज पनि प्रमाणका रूपमा राखिएका छन्। घटनास्थलमा दुवै जना उपस्थित भएको यसबाट पनि पुष्टि हुन्छ। सन्दीपले पीडित बालिकालाई ‘मायाको पहिलो स्वागत शुरू’ भनेर स्न्यापच्याटमा पठाएको भिडियो सन्देश, टेलिफोनको कल डिटेल रिपोर्ट (सीडीआर)लाई पनि प्रमाणका रूपमा मुद्दामा समेटिएको छ।
सन्दीपले कसूर इन्कार गरे पनि भोलिपल्ट क्रिकेट खेल्न केन्या उड्ने निर्धारित हुँदाहुँदै पनि होटलमा अपरिचित बालिकासँग रातभर बस्नु जस्तो परिस्थितिले पनि उनको भनाइ विश्वसनीय नभएको आरोप पत्रमा उल्लेख छ। अर्का क्रिकेटर देव खनालले केन्या जानुभन्दा १५ दिनअघिदेखि नै नेपाल क्रिकेट संघले खेलाडीलाई हायात होटलमा क्याम्प खडा गरी राखेको प्रहरीसँगको बयानमा बताएका छन्।
कप्तान सन्दीप भने ५ गते अपराह्नदेखि त्यहाँ नरहेको उनले खुलाएका छन्। यति महत्त्वपूर्ण घडीमा सन्दीप टीम छोडेर अपरिचित बालिकासँग रात बिताउनुलाई पनि प्रहरीले शङ्कास्पद मानेको छ। ‘जुन दिन, जुन समय र जसले जबर्जस्ती करणी गर्यो भन्ने पीडितको भनाइ छ, त्यही दिन, त्यही ठाउँ र त्यही समयमा यी प्रतिवादी (सन्दीप) साथमा छन्। पीडितलाई लिएर आफू मात्र गएका छन्,’ अभियोग पत्रमा भनिएको छ, ‘स्न्यापच्याट मार्फत चिनजान भएकी नाबालिकालाई रातको समयमा पीडितको मञ्जुरी बेगर होटल फेरी फेरी आफू अनुकूल परिस्थिति बनाई रातभर एउटै बेडमा राख्नु, पीडितको स्वास्थ्य जाँचबाट कसूर पुष्टि हुन आउँछ।’