तीन महीनामा चार खर्बको आयात, ४२ अर्बको निर्यात
चालू आर्थिक वर्षको पहिलो तीन महीनामा नेपालले रु.चार खर्ब हाराहारी मूल्यको वस्तु आयात गरेको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, साउनदेखि असोजसम्म रु.चार खर्ब एक अर्ब बराबरको वस्तु आयात भएको हो। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा १६.२ प्रतिशत थोरै हो। बितेको वर्षको यही अवधिमा रु.चार खर्ब ७८ अर्ब बराबरको वस्तु आयात भएको थियो। आयातले देशको विदेशी मुद्रा सञ्चितिलाई क्षयीकरण गरेपछि सरकारले विलासी वस्तुको आयात रोक्ने नीति लिएको छ।
तीन महीनामा रु.४१ अर्ब ८२ करोडको वस्तु निर्यात भएको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ३५.७ प्रतिशत कम हो। तेस्रो मुलुकबाट नेपालमा आयात गरी भारत निर्यात हुने कच्चा तेलको व्यापारमा कमी आएसँगै निर्यात पनि कम देखिएको हो। गत वर्षको यही अवधिमा नेपालले रु.६५ अर्ब पाँच करोड बराबरको वस्तु निर्यात गरेको थियो।
चालू आर्थिक वर्षको पहिलो तीन महीनामा नेपालले अन्तर्राष्ट्रिय व्यापारमा रु.तीन खर्ब ५९ अर्ब हाराहारीमा घाटा बेहोरेको छ। यो गत वर्षको यही अवधिको तुलनामा १३ प्रतिशत थोरै हो। आयात र निर्यात दुवै खस्किएका कारण व्यापार घाटा पनि घटेको छ।
साउन–असोजको अवधिमा नेपालले रु.७८ अर्ब २३ करोड मूल्यको पेट्रोलियम पदार्थ आयात गरेको छ। यो कुल आयातको १९.५ प्रतिशत हाराहारी हो। यो अवधिमा नेपालले रु.७४ अर्ब मूल्य हाराहारीको कृषिजन्य वस्तु आयात गरेको छ। यसमध्ये रु.३४ अर्ब ४५ करोडको खाने तेल (कच्चा सहित), रु.नौ अर्ब २६ करोडको खाद्यान्न, रु.पाँच अर्ब ३६ करोडको फलफूल, रु.आठ अर्ब २७ करोडको तरकारी छन्।