रुपन्देही–२ मा सत्ता गठबन्धनले जनमुक्ति अध्यक्ष सूर्यवंशीलाई साथ दिने
सत्ता गठबन्धनले रुपन्देही–२ मा राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशवबहादुर थापा (सूर्यवंशी)लाई समर्थन गर्ने भएको छ।
गठबन्धनले कात्तिक ९ गते संयुक्त वक्तव्य जारी गरेर सूर्यवंशीलाई साझा उम्मेदवार बनाउने जानकारी दिएको हो। नेकपा (एकीकृत समाजवादी)का राजु् गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्तिका उम्मेदवारलाई सघाउने निर्णय गरेको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वक्तव्यमा भनेका छन्, ‘रुपन्देहीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रूपमा समर्थन गर्ने निर्णय गरिएको छ।’
यो क्षेत्रमा नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले उम्मेदवारी दिएका छन्।