अपूर्वलाई साढे दुई लाख धरौटीमा छाड्न जिल्ला अदालतको आदेश
प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्वक्षितिज सिंहलाई रिहा गर्न जिल्ला अदालत, काठमाडौंले आदेश दिएको छ।
जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले अपूर्वलाई रिहा गर्न आदेश दिएको हो। अदालतले साढे दुई लाख धरौटीमा छोड्न आदेश दिएको अपूर्वका बुबा जयशंकर सिंहले बताए।
नेवार समुदायमाथि चोट पुग्ने गरी व्यङ्ग्य गरेको भन्दै उनी विरुद्ध उजुरी परेको थियो। प्रहरीले उनलाई दुई पटक हिरासतमा लिएर अनुसन्धान गरेको थियो।
उनी विरुद्ध प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकीलको कार्यालयले सार्वजनिक शान्ति, जातीय भेदभाव तथा छुवाछुत, सामाजिक रीतिस्थिति खलल सम्बन्धी कसूरमा मुद्दा दायर गरेको हो। उनलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद सजायको माग दाबी गरिएको थियो।
बिहीबार थुनछेक सम्बन्धी बहसपछि न्यायाधीश मैनालीले धरौटीमा रिहा गर्न आदेश दिएका हुन्।