ट्र्याक्टर दुर्घटनामा चार युवाको मृत्यु
ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटना हुँदा चार युवाको मृत्यु भएको छ।
दुर्घटनामा मैवाखोला गाउँपालिका-५ काम्सङका ट्र्याक्टर चालक ३१ वर्षीय पासाङ शेर्पा र २४ वर्षीय फुर्वा शेर्पा तथा मैवाखोला-४ ओदककी २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीय लाकी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार, चारै जनाको घटनास्थलमा मृत्यु भएको हो। ट्र्याक्टर सडकबाट करीब दुई सय मिटर तल खसेको छ।
ट्र्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा आफन्त बिरामी भएकाले तेल्लाबुङस्थित विद्युत्को सबस्टेशनबाट काम्साङ गइरहेका थिए। अन्य दुई जना पनि घर फर्किरहेका थिए।