सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक
संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।
उनी २३ दिनदेखि ललितपुरको क्रिस्ट मेडिकल कलेज एवं शिक्षण अस्पतालमा उपचाररत छन्। उनको स्वास्थ्यमा सुधार नआएको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जनाएका छन्।
संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन शनिबार अस्पतालले जारी गरेको बुलेटिनमा उनको स्वास्थ्य स्थिति चिन्ताजनक रहेको जनाइएको छ। अस्पतालले भनेको छ, “जोशीज्यूको स्वास्थ्य स्थिति स्थिर रहे पनि चिन्ताजनक छ।”
स्वास्थ्यमा थप समस्या आएपछि उनलाई असोज २८ गते सघन उपचार कक्षमा सारिएको थियो। तर, आजसम्म स्वास्थ्यमा सुधार नआएको प्राडा अब्रजाचार्यले जानकारी दिएका छन्। अस्पतालले भनेको छ, “हिजोदेखि आजसम्म स्वास्थ्यमा खासै सुधार नभएको र उहाँको स्वास्थ्य स्थिति स्थिर नै रहेको छ।”
यससँगै उनको छातीमा निमोनिया र पिसाबमा संक्रमण देखिएको छ। त्यसको उपचार जारी रहेको अस्पतालले जनाएको छ।