बागीलाई उम्मेदवारी निष्क्रिय पार्न कांग्रेसले दियो असोज ३१ सम्मको समय
नेपाली कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पार्न असोज ३१ गतेसम्मको समय दिएको छ।
आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा बागी उम्मेदवार, उनीहरूका प्रस्तावक र समर्थकलाई कांग्रेसले कारबाहीको निर्णय गरेको थियो। उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी पाँच वर्षका लागि निश्कासित गरेको थियो।
बिहीबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गरी असोज ३१ गतेसम्म आफ्नो उम्मेदवार निष्क्रिय पार्न समय दिइएको जनाएका छन्।
कांग्रेसले भनेको छ, ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारबाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ।’