कमेडियन अपूर्व १२ दिनपछि हिरासतमुक्त
हास्यव्यंग्यका नाममा नेवार समुदायको अपमान गरेको आरोपमा प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंह तारेखमा छुटेका छन्।
कोभिड-१९ संक्रमणका कारण काठमाडौं सरकारी वकीलको कार्यालयले तारेखमा छाड्ने निर्णय गरेको थियो। त्यसका आधारमा बिहीबार राति पाटन उच्च अदालत बार एसोसिएशनका अध्यक्ष शान्तिराम खतिवडाको रोहबरमा उनलाई रिहा गरिएको छ।
तारिखमा राखेर अनुसन्धान गर्ने गरि रिहा गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले बताए। उनले भने, ''बिरामीको उपचार गर्नुपर्यो नि। त्यसैले अब हामी तारिखमा राखेर अनुसन्धान गर्छौं।''
उनी बिरामी भएपछि भदौ २२ गते वीर अस्पताल भर्ना भएका थिए। कोरोनाभाइरसको संक्रमण देखिएको थियो। जसले गर्दा प्रहरीले तारेखमा छोडेर अनुसन्धान गर्ने अनुमति मागेको थियो। त्यसमा सरकारी वकीलको कार्यालयले सदर गरेपछि उनी छुटेका हुन्।
नेवार समुदायको आस्थामाथि चोट पुग्ने गरी व्यङ्ग्य गरेको भन्दै उजुरी परेपछि उनी भदौ १२ गते पक्राउ परेका थिए। विरोध भएपछि सिंहले तत्काल भिडिओे हटाएर माफी मागेका थिए। तर, उजुरी परेपछि उनी पक्राउ परेका थिए।
अभिव्यक्ति स्वतन्त्रतामाथि सरकार कठोर बनेको भन्दै विरोध हुन थालेपछि जाहेरी दिने पक्ष नै सिंहलाई छुटाउन लागिपरेको थियो। यसका लागि भदौ १९ गते जाहेरी दिने पक्ष र सिंहको परिवारबीच प्रहरी कार्यालयमा छलफल भएको थियो। छलफलमा सिंहलाई माफी दिने सहमति बनेको थियो।
सोही अनुसार माफी दिएको अर्को निवेदन प्रहरीकहाँ दर्ता गर्ने प्रक्रिया थालिएको थियो। तर, जाहेरीकर्तामध्ये केहीले निवेदनमा हस्ताक्षर नगरेपछि रिहा गर्ने प्रक्रिया रोकिएको थियो। त्यसपछि भदौ २२ गते जिल्ला अदालत काठमाडौंले सिंहलाई हिरासतमा राखेर अनुसन्धान गर्न थप पाँच दिनको अनुमति दिएको थियो।
सामाजिक रीतिथितिमा खलल पुर्याएको आरोपमा कलाकार सिंह विरुद्ध जाहेरी दर्ता भएको थियो। “हामी उहाँ छुट्नुपर्छ भन्नेमै थियौं,” निवेदकमध्येका एक यादवलाल कायस्थले भने, “तर, हामीबीच नै कुरा नमिलेपछि अप्ठेरो भएको थियो। उहाँ छुट्नुभएछ, खुशी लाग्यो।”