कांग्रेसले कम्तीमा एक सय सीट लिनुपर्छ: डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनमा तालमेल गर्दा कांग्रेसले कम्तीमा एक सय सीट लिनुपर्ने बताएका छन्।
बीपी जयन्तीका अवसरमा नेपाल प्रेस युनियनले बिहीबार जनकपुरधाममा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता कोइरालाले अन्य पार्टीलाई जिताउनका लागि मात्रै गठबन्धन नभएको बताए। कांग्रेसको बहुमत आउने गरी गठबन्धन गर्नुपर्ने उनको भनाइ थियो।
“तालमेल मात्रै होइन, कांग्रेसको बहुमत आउने कुरा पनि हाम्रा लागि महत्त्वपूर्ण हो,” डा. कोइरालाले भने, “त्यसका लागि कम्तीमा एक सय सीट कांग्रेसले लिनुपर्छ।”
चुनाव जितेर सरकार बनाउनका लागि मात्रै गठबन्धन भएको उनले बताए। नेकपा (एमाले)ले संविधान असफल बनाउन खोजेकाले मात्रै विचार नमिल्नेहरूसँग पनि गठबन्धन गरिएको उनको जिकिर थियो।
“हामी गठबन्धनमा छौं। गठबन्धन एकदमै विचित्रको छ। हामी प्रजातान्त्रिक विचार राख्छौं। गठबन्धनमा भएका कुनै दलसँग हाम्रो विचार मिल्दैन,” डा. कोइरालाले भने, “तैपनि एमालेले संविधान असफल बनाउन खोजेकाले गठबन्धन गर्नुपरेको हो।”
कांग्रेसमा टिकट वितरण पनि न्यायोचित हुनुपर्ने उनको भनाइ थियो। “हामी कुनै गुटको राजनीति गर्दैनौं। गुटको राजनीति जति वेला गर्नुपर्ने हो त्यति वेला गरौंला,” डा. कोइरालालो भने, “अहिले कांग्रेसलाई चुनाव जिताउनुपर्नेछ। त्यसका लागि चुनाव जित्न सक्ने नेतालाई विना भेदभाव टिकट दिनुपर्छ। टिकट वितरण न्यायोचित हुनुपर्छ।”