परराष्ट्र मन्त्रीलाई प्रश्न–नेपाल ग्लोबल सेक्युरिटी इनिसियटिभमा संलग्न भएको हो?
पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालाले चीनले अगाडि सारेको ग्लोबल सेक्युरिटी इनिसियटिभमा नेपाल संलग्न भए/नभएको प्रष्ट पार्न माग गरेकी छन्।
नेपाली कांग्रेस नेतृ कोइरालाले भदौ २१ गते बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै विभिन्न घटनाक्रम हेर्दा ग्लोबल सेक्युरिटी इनिसियटिभमा नेपाल सहमत देखिएको आशङ्का व्यक्त गरेकी हुन्।
परराष्ट्र मन्त्री नारायण खड्काको चीन भ्रमणपछि चिनियाँ पक्षले जारी गरेको विज्ञप्तिमा ग्लोबल सेक्युरिटी इनिसियटिभबारे उल्लेख भएको, चिनियाँ राजदूत होउ यान्छीको एउटा दैनिकमा छापिएको लेखमा पनि सोही आशयको भनाइ प्रकाशित भएको र राष्ट्रिय सभाका अध्यक्षसँगको भिडिओ कन्फेरेन्समा चिनियाँ सरकारका उच्च राजनीतिक सल्लाहकारले ग्लोबल सेक्युरिटी इनिसियटिभमा नेपालले सहयोग गरे बापत धन्यवाद ज्ञापन र स्वागत गर्दछौं भनेको कुराले आशङ्का जन्माएको कोइरालाको भनाइ छ।
“यी तीन वटै प्रसङ्गमा नेपालको परराष्ट्र संस्थापन मौन रह्यो,” पूर्व मन्त्री कोइरालाले संसद्मा भनिन्, “कुनै पनि सेक्युरिटी अलाइन्समा सहमति नगर्ने हाम्रो नीति छ, म परराष्ट्र मन्त्रीज्यूलाई सोध्न चाहन्छु, नेपाल चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसियटिभमा संलग्न भएको हो?”