रेशम चौधरीको पार्टीले १५० स्थानमा उम्मेदवार उठाउने
आगामी प्रतिनिधि सभाको निर्वाचनमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले १५० स्थानमा उम्मेदवार उठाउने भएको छ।
आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि उन्मुक्ति पार्टीले तयारी थालेको छ। अहिलेसम्म प्रतिनिधि सभाका १५० र प्रदेश सभाका २५० क्षेत्रका लागि उम्मेदवार तय भएको चौधरीले दाबी गरे।
उनी २०७४ सालको निर्वाचनमा कैलाली १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। टीकापुर घटनामा कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि उनी काठमाडौंको डिल्लीबजार कारागारमा छन्। उनले उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालतमा दिएको मुद्दा विचाराधीन छ।
उनी डिल्लीबजार कारागारबाटै चुनावी रणनीति बनाइरहेका छन्। उनकी श्रीमती रञ्जिता श्रेष्ठले पार्टीको नेतृत्व गरेकी छन्।
आगामी चुनावमा टिकटको माग गर्दै नेता तथा कार्यकर्ता उनलाई भेट्न कारागारमै पुग्ने गरेका छन्। “अहिले भेट्न आउने धेरैजसोले टिकट माग्ने गरेका छन्,” चौधरीले हिमालखबरसँग भने।
अहिलेसम्म ४१ जिल्लामा पार्टी उम्मेदवारी दिने तय भएको उनको दाबी छ। जसमा अछाम, बझाङ, बाजुरा, बाँके, बारा, बर्दिया, चितवन, डडेल्धुरा, दैलेख, दाङ, दार्चुला, डोटी, हुम्ला, जाजरकोट, झापा, जुम्ला, कैलाली, कालिकोट, कञ्चनपुर, कपिलवस्तु, काठमाडौं, ललितपुर, महोत्तरी, मोरङ, मुगु, नवलपुर, परासी, पर्सा, रामेछाप, रौतहट, रुपन्देही, सप्तरी, सर्लाही, सिन्धुली, सिरहा, सुनसरी, सुर्खेत, उदयपुर, काभ्रे, दोलखा र नुवाकोट छन्।
अन्य जिल्लाका व्यक्ति पनि सम्पर्कमा रहेको र उम्मेदवार हुन सक्ने उनको भनाइ छ।