प्रदीप गिरिका धेरै अङ्गले काम गर्न छाडे: परिवारजन
कांग्रेस नेता एवं सांसद प्रदीप गिरिका धेरै अङ्गले काम गर्न छाडेको परिवारजनले बताएका छन्।
शनिबार परिवारका तर्फबाट नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी दिन प्रेस विज्ञप्ति जारी गरी धेरै अङ्गले काम गर्न छाडेको जनाइएको छ। “निमोनियाले एकदमै च्यापेको छ,” भारती सिलवाल गिरिले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “जसले गर्दा धेरै अङ्गले काम गर्न छाडेका छन्।”
नेता गिरिलाई क्यान्सर भएको थियो। उनको भारतमा उपचार भएको थियो।
भारतबाट उपचार गरेर फर्केपछि निमोनिया भएको थियो। उनलाई एक महीनाअघि नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।
अहिले पनि मेडिसिटीमा विशेषज्ञ चिकित्सकको टोलीले उपचार गरिरहेका छन्। परिवारको तर्फबाट जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “अन्कोलोजिस्ट, पल्मुनोलोजिस्ट, ग्यास्ट्रोइन्टेरेनोलोजिस्ट, नेफ्रोलोजिस्ट, इन्टरनिस्ट र क्रिटिकल केयरका विशेषज्ञहरू सहित अस्पतालको पूरै टीमले गिरिको उपचार गरिरहेको छ र विशेषज्ञ टोलीले प्रदीप गिरिको स्वास्थ्यलाभका लागि सक्दो प्रयास गरिरहेको छ।”
नेता गिरिको उपचार गरिरहेको अस्पताललाई परिवारजनले धन्यवाद पनि दिएका छन्। यससँगै गिरिको स्वास्थ्यका लागि प्रार्थना गर्न सबैलाई अनुरोध गरेका छन्।