संघ र प्रदेशको चुनाव मंसीर ४ मा गर्ने सहमति
प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आगामी मंसीर ४ गते गर्ने सत्तारूढ पाँच दलबीच सहमति भएको छ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका विषयमा सहमति गरेको नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले बताए।
गठबन्धनको बैठकपछि हिमालखबरसँग कुराकानी गर्दै नेता श्रेष्ठले भने, “सत्तारूढ गठबन्धनको बैठकले छिटोभन्दा छिटो चुनावको घोषणा गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ।”
यसअघि निर्वाचन आयोगले मंसीर २ गते निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सल्लाह दिएको थियो। आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको पाँचवर्षे अवधि मंसीर २२ गते सकिने निष्कर्ष निकालेको थियो।
त्यसअघि चुनाव गरिसक्नुपर्ने आयोगको सुझाव थियो। आयोगको सुझाव अनुसार, नै सत्तारूढ गठबन्धनले मंसीर ४ गते चुनाव गर्ने सहमति गरेको हो।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ। सकभर बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट र ढिलाइ भए अर्को बैठकबाट निर्वाचनको मितिबारे निर्णय गरिने प्रधानमन्त्री देउवाले गठबन्धनको बैठकमा जानकारी दिएका छन्।
बुधबारको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवासँगै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी थिए।
यसअघि प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव २०७४ मंसीर १० र २१ गते दुई चरणमा भएको थियो। यस पटक भने एकै चरणमा गर्नेगरी मिति घोषणा गर्न आयोगले सुझाएको छ। स्थानीय तहको चुनाव पनि आयोगले गत वैशाख ३० गते एकै चरणमा गराएको थियो।