पाँच वर्ष कांग्रेसकै सरकार हुने गरी मात्रै गठबन्धन: शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी चुनावमा गठबन्धन गर्न पाँच वर्षसम्म कांग्रेसकै सरकार हुने गरी सहमति हुनुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियनले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले आगामी पाँच वर्ष स्थायी सरकार बनाउने गरी मात्रै गठबन्धन हुने बताए। अहिले कांग्रेस ठूलो पार्टी भएकाले त्यस अनुसार सहमति गर्नुपर्ने उनको भनाइ थियो।
डा. कोइरालाले भने, “पाँच वर्षसम्म कांग्रेसकै नेतृत्वमा स्थायी सरकार बनाउने पक्षमा हामी सचेत छौं। यसका लागि छलफल भइरहेको छ।”
कांग्रेसलाई कम क्षति हुने गरी मात्रै गठबन्धन हुने उनको भनाइ थियो। “अब हामी प्रदेशको निर्वाचन र संघीय निर्वाचनमा होमिंदै छौं। मलाई लाग्छ, मंसीरको पहिलो हप्तामै निर्वाचन हुन्छ भन्ने मलाई विश्वास छ। त्यसमा कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धनमा जान्छौं,” उनले भने।
अहिले नेकपा (माओवादी केन्द्र) ले मागे जति सीट दिन नसकिने उनको भनाइ थियो। स्थानीय चुनावबाट कांग्रेस ठूलो पार्टी भएको स्मरण गराउँदै डा. कोइरालाले भने, “माओवादीले २०७४ सालकै जसरी सीट मागिरहेको छ, त्यसरी हामी जाँदैनौं।”