इतिहासले देखाएको एआईको भविष्य
अहिले पनि कामदारका निम्ति हितकारी एआईको सम्भावना छ, तर त्यसका लागि प्रविधि उद्यममा भइरहेको आविष्कारको दिशा बदल्न सक्नुपर्छ र नयाँ नीति, नियम तथा संस्था परिचालन गर्न सक्नुपर्छ।
कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स-एआई) र यसले विभिन्न रोजगारमाथि सिर्जना गरेको खतरा बिल्कुलै नयाँ समस्या बनेको छ। तर बेलायती औद्योगिक क्रान्तिलाई आफ्नै आँखाले अवलोकन गरेका आधुनिक अर्थशास्त्री डेभिड रिकार्डोका कृतिमा यो समस्यालाई कसरी सामना गर्ने भन्ने उपाय पाउन सकिन्छ। रिकार्डोको चिन्तनको विकास र उनले छुटाएका पक्ष वर्तमानका लागि उपयोगी शिक्षा हुन सक्छन्।
निजी क्षेत्रका प्रविधि मालिकहरूले एआईको विकासले काममा कम तनाव हुने, दिक्कलाग्दो बैठक कम हुने, फुर्सदको समय बढ्ने र सम्भवतः विश्वव्यापी आधारभूत आय कायम हुने जस्ता सुखद भविष्यको सपना देखाइरहेका छन्। तर के उनीहरूलाई विश्वास गर्न सक्छौं त?
धेरै मानिसले आफूले राम्रै ठानिरहेको रोजगार गुमाउन सक्छन्। जसले उनीहरूलाई त्योभन्दा न्यून आयको काम खोज्न बाध्य पार्नेछ। आखिर अहिले मानिसको समय र लगाव चाहिने काम एआईले गर्न थालिसकेको छ।
सन् १८१७ मा प्रकाशित प्रभावशाली पुस्तक अन द प्रिन्सिपल्स अफ् पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेशन (राजनीतिक अर्थशास्त्र र कर प्रणालीका सिद्धान्तबारे)मा रिकार्डोले मशिनले कपास कताइमा ल्याएको रूपान्तरणबारे सकारात्मक धारणा प्रस्तुत गरेका थिए। त्यति वेला व्याप्त परम्परागत चिन्तनमाथि टिप्पणी गर्दै उनले संसद्लाई भनेका थिए, ‘यन्त्रले श्रमको आवश्यकता घटाउँदैन।’
सन् १७७० को दशकदेखि कपासबाट धागो कात्ने काममा स्वचालित यन्त्रको प्रयोगले कपासको धागोको मूल्य घटाइदियो भने त्यसैसँग जोडिएको कपडा बुन्ने र तयार पार्ने कामको माग बढाइदियो। सन् १८१० को दशकअघिसम्म सबैजसो कपडा बुन्ने काम हातैले गरिने भएकाले यो कामका लागि श्रमिकको माग बढ्यो। लाखौं बेलायती जुलाहाहरू यस काममा जोडिए जसमध्ये यन्त्रका कारण कपास कात्ने कामबाट विस्थापित भएकाहरू पनि थिए। यन्त्रसँग जोडिएको यो प्रारम्भिक अनुभवले रिकार्डोमा प्रारम्भमा यन्त्रप्रति सकारात्मक धारणा विकास गरिदिएको थियो।
तर प्रविधिको विकास गर्ने काम कपास कात्ने यन्त्रमा सीमित भएन। वाष्पशक्तिमा आधारित कपडा कारखाना खुल्न थाले। जुलाहाले साताको पाँच दिन आफ्नै घरमा काम गरेर कमाउने अवस्था रहेन। उनीहरू आफ्नो परिवारको पेट भर्न उद्योगको कडा अनुशासनमा लामो समय काम गर्न बाध्य भए।
यो परिवर्तनसँगै सिर्जना भएका आक्रोश र प्रदर्शनहरू उत्तरी बेलायतभर फैलिन थालेपछि रिकार्डोले आफ्नो धारणा परिवर्तन गरे। उक्त पुस्तकको सन् १८२१ मा प्रकाशित तेस्रो संस्करणमा उनले ‘अन मशिनरी’ (यन्त्रबारे) शीर्षकको नयाँ अध्याय थपे। यो अध्यायमा उनले सटीक निष्कर्ष प्रस्तुत गरे- आज श्रमिकले गरिरहेका सबै काम यन्त्रले नै गर्ने हो भने श्रमिकको माग नै हुनेछैन।
रिकार्डोले त्यति वेला व्यक्त गरेको चिन्ता अहिले फेरि गर्नुपर्ने भएको छ। आफूले गरिरहेको काम अल्गोरिदमले गरेकैले जागीर गुमाएका मान्छेहरूले राम्रो तलब पाउने नयाँ काम नभेट्टाउँदासम्म एआईको विकास सुखद समाचार बन्न सक्दैन।
सन् १८१० र १८२० को दशकमा हातैले कपडा बुन्ने अधिकांश जुलाहा उद्योगमा काम गर्न गएनन्, किनभने त्यति धेरै कामदारको आवश्यकता नै थिएन। कपास कात्ने काम यन्त्रले गर्न थालेपछि कपडा बुन्ने काममा रोजगारीको सिर्जना भए जस्तो कपडा बुन्ने कामको यान्त्रिकीकरणले अन्य क्षेत्रमा श्रमिकको आवश्यकता सिर्जना गर्न सकेन।
सन् १९३० को दशकमा रेलमार्ग बन्न नथाल्दासम्म बेलायती अर्थतन्त्रले रोजगारीका नयाँ अवसर सिर्जना गर्नै सकेन। अरू अवसर सीमित भएकाले लाखौं जुलाहाले आधाभन्दा कम ज्यालामा भए पनि पुरानै काम गरिरहे।
रिकार्डोले कुनै विचार नै प्रस्तुत नगरेको अर्को उल्लेखनीय समस्या पनि थियो, फ्याक्ट्रीको काम खासै आकर्षक थिएन। सन् १८०० को दशकमा उद्योग निकै अरुचिकर हुन्थे। उद्योगीको कठोर नियन्त्रणमा सानो ठाउँमा कोचिएर घण्टौं काम गर्नुपर्थ्यो। जुलाहाहरूले भने आफ्नै स्वतन्त्र व्यवसाय सञ्चालन गरिरहेका थिए। कपासको धागो किन्थे र कपडा बुनेर बजारमा बेच्थे।
पक्कै पनि उनीहरू धेरै घण्टा काम गर्नुपर्ने, अनुशासनको दाम्लोमा कसिनुपर्ने, कम स्वतन्त्रता भएको र न्यून ज्याला पाइने (कम्तीमा आफ्नो व्यवसायमा भन्दा त कम) कामप्रति रुचि राख्दैनथे। त्यति वेला विभिन्न शाही आयोगले संकलन गरेका बयानमा जुलाहाले त्यस्तो वातावरणमा काम गर्न अस्वीकार गरेको वा अरू काम नपाएकाले बाध्यतावश काम गर्न विवशहरूले पनि कामप्रति गरेको दुखेसो पढ्न पाइन्छ।
अहिलेको जेनेरेटिभ एआईको निकै ठूलो सम्भावना छ र यसले अहिले नै वैज्ञानिक अनुसन्धान लगायतका प्रभावशाली उपलब्धि हासिल गरिसकेको छ (जेनेरेटिभ एआई- नयाँ संवाद, कथा, चित्र, भिडिओ, संगीत आदि बनाउन सक्ने एआई)। श्रमिकलाई थप सूचित, थप उत्पादनशील, थप स्वतन्त्र र थप प्रतिभावान् हुन एआईले सघाउन सक्छ।
विडम्बना, ठूला प्रविधि कम्पनीले एआईको अर्कै प्रयोजन सोचिरहेको देखिन्छ। पावर एन्ड प्रोग्रेस (लेखकद्वयको पुुस्तक)मा व्याख्या गरे जस्तै ठूला प्रविधि कम्पनीले एआईको विकास र प्रयोग वृद्धि (मानिसलाई थप उत्पादनशील बनाउन)का लागि भन्दा पनि स्वचालन (मानिसको विस्थापन)का लागि गरिरहेका छन्।
यसको अर्थ हो- हामीले अति स्वचालनको जोखिम सामना गर्नुपर्नेछ। थुप्रै कामदार विस्थापन हुनेछन् र काममै रहेकाहरू पनि अत्यधिक निगरानी र नियन्त्रणका शिकार हुनेछन्। ‘पहिला स्वचालन गर र जेजति सोध्नु छ त्यसपछि सोधौला’ भन्ने सिद्धान्तले कार्यस्थल तथा सिंगो समाजबाट अत्यन्त धेरै सूचनाको संकलनको माग गर्छ, त्यसका लागि प्रेरित पनि गर्छ। जसले मानिसको गोपनीयता कतिसम्म रहनेछ भन्ने प्रश्न खडा गर्छ।
यद्यपि यो सम्भावित भविष्यबाट मानव जातिलाई जोगाउनै नसकिने होइन। डेटा संकलनमा नियमनले गोपनीयता जोगाउन सक्छ र कार्यस्थलमा कठोर नियमले एआईमा आधारित निगरानीबाट बचाउन सक्छ। तर रिकार्डोबाट पाठ सिक्ने हो भने, हामीले गर्नै पर्ने आधारभूत काम हो, एआईबारे सिंगो अवधारणा नै परिवर्तन गर्न जरुरी छ।
के भन्न सकिन्छ भने, रिकार्डोको जीवन र कामबाट सिक्न सकिने सबैभन्दा महत्त्वपूर्ण शिक्षा हो, यन्त्र आफैंमा खराब वा सही हुँदैनन्। तिनले रोजगारी ध्वस्त पार्छन् वा थप सिर्जना गर्छन् भन्ने चाहिं हामीले ती यन्त्रको प्रयोग कसरी गर्छौं र त्यो निर्णय कसले गर्छ भन्नेमा भर पर्छ। रिकार्डोको समयमा कारखानाका मालिक नै निर्णयकर्ता थिए। तिनले सके जति यान्त्रिकीकरण गर्ने र कामदारलाई चुस्ने निर्णय गरेका थिए।
अहिले पनि प्रविधिको नेतृत्व गर्ने सानो समूहले त्यही बाटो पछ्याइरहेको छ। तर नयाँ अवसरको सिर्जना, मानिसका लागि नयाँ काम र सबै मानिसको सम्मानमा केन्द्रित हुने हो भने सुखद परिणाम पनि आउन सक्छन्। अहिले पनि कामदारका निम्ति हितकारी एआईको सम्भावना छ, तर त्यसका लागि हामीले प्रविधि उद्यममा भइरहेको आविष्कारको दिशा बदल्न सक्नुपर्छ र नयाँ नीति, नियम तथा संस्था परिचालन गर्न सक्नुपर्छ।
रिकार्डोको समयमा जस्तै उद्यमी र प्रविधिका नेतृत्वकर्ताको उदारतामा विश्वास गर्नु मूर्खतापूर्ण हुनेछ। औद्योगिक क्रान्ति ताका बेलायतमा वास्तविक लोकतन्त्रको सिर्जना गर्न, ट्रेड युनियनलाई वैधता प्रदान गर्न र प्राविधिक प्रगतिको दिशा बदल्न ठूला राजनीतिक सुधार भएका थिए। त्यस्तै आधारभूत चुनौती आज हामीले सामना गर्नुपरेको छ।
(एसेमोग्लु र जोन्सन दुवै एमआईटीका प्राध्यापक हुन्। प्रोजेक्ट सिन्डिकेटबाट लक्ष्मण श्रेष्ठले गरेका अनुवाद।)