सरकार स्वास्थ्य बीमाको दायित्वबाट पन्छिन खोज्योः एमाले
प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले सरकार स्वास्थ्य बीमाको दायित्वबाट पन्छिन खोजेको आरोप लगाएको छ।
सरकार सामाजिक स्वास्थ्य बीमामा निजी कम्पनीलाई प्रवेश गराई आफ्नो दायित्वबाट पन्छिने षड्यन्त्र गरिरहेको एमालेको जिकिर छ।
एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ‚ “सरकारको यो नीतिले एकातिर बीमा प्रदायक संस्थाको सङ्ख्या घटाएर सहज पहुँचबाट टाढा राख्ने र अर्कोतिर सामाजिक स्वास्थ्य बीमामा निजी कम्पनीहरू प्रवेश गराई सरकार आफ्नो दायित्वबाट पन्छने षड्यन्त्र गरेको स्पष्ट छ।”
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा नै स्वास्थ्य कार्यक्रमलाई कम्पनी मार्फत सञ्चालन गर्न आवश्यक तयारी गरेर स्वास्थ्य बीमा नीति नियोजित गर्ने षड्यन्त्र भएको एमालेले दाबी गरेको छ।
“उक्त बजेट वक्तव्यको १५१ नं बुँदामा स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरूलाई सामुदायिक तथा सरकारी अस्पतालहरूबाट मात्र उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ। यसका लागि सबै सामुदायिक तथा सहकारी अस्पतालहरूमा सामाजिक स्वास्थ्य एकाइ स्थापना गरिनेछ‚” विज्ञप्तिमा उल्लेख छ‚ “स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनी मार्फत सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ भनी उल्लेख गरिएको छ।”
एमालेले देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको र आम नागरिकले सहज ढङ्गले उपयोग गर्न पाउनुपर्ने बीमाबारे आएका विभिन्न समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ।
पूर्ववर्ती सरकारले संविधानको धारा ३५ को स्वास्थ्य सम्बन्धी मौलिक हकको सहज कार्यान्वयनका लागि स्वास्थ्य बीमालाई जनमुखी कार्यक्रमका रूपमा कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै बीमाका सन्दर्भमा सेवाप्रदायक संस्थाबाट हुन सक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्था अनुरूप नै सञ्चालन गर्न एमालेले माग गरेको छ। साथै‚ बजेट वक्तव्य मार्फत आएको जनविरोधी नीति फिर्ता लिन ध्यानाकर्षण गराएको छ।