साताको मौसमः देशभर पानी पर्ने‚ केही ठाउँमा भीषण वर्षाको सम्भावना
आगामी साता देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भू-भागमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार‚ साताको शुरू शुक्रबार शनिबार‚ मध्य आइतबार, सोमबार र मंगलबार हिमाली तथा पहाडी भू-भागका केही र तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै‚ साताको अन्त्य बुधबार र बिहीबार देशका पहाडी भू-भागका धेरै तथा हिमाली र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साताको अन्त्यमा प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै‚ हिमाली भू-भागमा अधिकतम तापक्रम र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको र पहाडी तथा तराईका भूभागमा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने तर अधिकतम तापक्रम भने हल्का घट्ने सम्भावना रहेको बताइएको छ।