देशको अधिकांश भागमा वर्षा‚ काठमाडौंको नदी किनारमा सतर्कता अपनाउन आग्रह
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज अधिकांश प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ।
प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायु‚ पश्चिमी भेगमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको पूर्वानुमान महाशाखाले जनाएको छ। साथै‚ भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको छ।
आज प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ती क्षेत्रमा पहिरोको जोखिम साथै नदी तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
शुक्रबार बिहान प्रदेश १, बागमती, गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो र राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै‚ पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाको अधिकांश स्थानमा भीषण वर्षा मापन भएको छ। हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो रहेकाले नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।