जैविक उपयोगितामाथि वैज्ञानिक मन्थन
विभिन्न देशका वैज्ञानिक तथा अनुसन्धानकर्मीहरूले जैविक विविधता र वनस्पतिको उपयोगिताबारे काठमाडौंमा बृहत् मन्थन गर्ने भएका छन्।
वनस्पति विभागको आयोजनामा बुधबारदेखि हुने ‘इन्टरनेशनल कन्फरेन्स अन बायोडाइभर्सिटी र बायोप्रोस्पेक्टिङ’ शीर्षकको अन्तर्राष्ट्रिय सम्मेलनका लागि वैज्ञानिकहरू नेपालमा भेला भएका हुन्।
सम्मेलनमा नेपालका वनस्पतिविद्हरू प्रा. रामप्रसाद चौधरी, प्रा. प्रमोदकुमार झाले मुख्य मन्तव्य प्रस्तुत गर्नेछन्। चौधरीले ‘जैविक विविधता र जैविक–उपयोगिता’ शीर्षकमा तथा झाले ‘जैविक विविधता अनुसन्धानका आवश्यक आयाम’ शीर्षकमा आफ्नो धारणा प्रस्तुत गर्नेछन्।
चौधरी र झा वनस्पति विभागले प्रदान गर्ने ‘राष्ट्रिय वनस्पति पुरस्कार’ प्राप्त वनस्पतिविद् हुन्। सो पुरस्कार प्राप्त अर्का वनस्पतिविद् प्रा. कृष्णकुमार श्रेष्ठले पनि ‘हिमालय क्षेत्रको फूलहरूको विविधता’ शीर्षकमा आफ्नो प्रस्तुति दिनेछन्।
सम्मेलनका लागि अमेरिकाको मिजौरी बोटानिकल गार्डेनका निर्देशक रोबी हार्ट, सेन्ट्रल इन्स्टिच्यूट अफ मेडिसिनल एन्ड एरोमेटिक प्लान्ट, भारतका वरिष्ठ वैज्ञानिक सञ्जय कुमार लगायतको उपस्थिति हुनेछ। साथै, भारत तथा दक्षिणएशियाका अनुसन्धानकर्मीहरूको उल्लेख्य सहभागिता रहनेछ।
सोही समारोहमा नेपालका झ्याउहरू (लाइकेन्स अफ नेपाल) पुस्तक विमोचन गरिने कार्यक्रम छ। पुस्तक सहप्राध्यापक चित्रबहादुर बानिया, वनस्पतिविद् राजेश तामाङ र अमृत केसीको संयुक्त अनुसन्धानमा आधारित छ।
सधैं संरक्षणका मुद्दा प्राथमिकतामा पर्ने गरेकामा यस पटक भने जैविक उपयोगितालाई उठान गरिएको वनस्पति विभागका महानिर्देशक बुद्धिसागर पौडेल बताउँछन्। “जैविक विविधताका सन्दर्भमा संरक्षण, दिगो उपयोग र समतामूलक वितरण मुख्य अजेन्डा छन्। हाम्रो प्रयास जैविक स्रोतहरूको समतामूलक वितरण कसरी हुन सक्छ भन्नेमा केन्द्रित छ,” महानिर्देशक पौडेलले भने, “जडीबुटी तथा वनस्पतिहरू निर्यात गर्ने मात्र होइन‚ दिगो संरक्षणमा आधारित हुँदै स्थानीय जैविक व्यवसायलाई अग्रसर गराउँदै भ्यालु एडेड प्रोडक्टका लागि के गर्न सकिएला भन्नेमा केन्द्रित हुने प्रयास गरेका छौं।”
अनुसन्धानकर्मीलाई नयाँ मञ्च प्रदान गर्दै अभिमुखीकरणको अवसर र झेल्नुपरेका चुनौती तथा अनुसन्धानका निष्कर्ष आदानप्रदान गर्ने मञ्च उपलब्ध गराउने भएकाले सम्मेलन महत्त्वपूर्ण हुने संरक्षणकर्मी दिनेश भुुजू बताउँछन्। “सम्मेलनले अनुसन्धानकर्मीलाई आफ्नो उपलब्धि प्रस्तुत गर्ने अवसर मात्र दिंदैन‚ देखेका समस्या र चुनौतीलाई पर्गेल्दै समाधानतर्फ जान मार्गप्रशस्त पनि गर्दछ,” भुजू भन्छन्। सम्मेलनमा दुईवटा मुख्य मन्तव्य, १३ वटा प्यानल छलफल र ८६ वटा प्राविधिक पत्र प्रस्तुत हुनेछन्।