एसपीपी सम्झौता भएको छैन‚ आत्मसमर्पणवादीले कुप्रचार गरे: दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै सम्झौता नभएको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले गठबन्धनको बैठकमा एसपीपी सम्झौताबारे छलफल समेत नभएकाले सम्झौता भयो भन्ने कुरा झूट भएको दाबी गरेका छन्।
“एसपीपी हुँदै छ रे‚ सैनिक सम्झौता हुँदै छ रे, भई नै सक्यो भने जसरी प्रचार गरिएको छ। बिल्कुल झूटो हो‚” उनले प्रष्ट्याउँदै भने‚ “गठबन्धनको एउटा नेताको हैसियतले र प्रधानमन्त्रीसँग गठबन्धनमा हाम्रो भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन। त्यस्तो कुनै सैन्य सम्झौता हुनेछैन।”
प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा त्यस्तो खालको सम्झौतामा जान्नँ भनी प्रतिबद्धता जाहेर गरेको पनि दाहालले बताए। उनले गठबन्धन सरकार यस्ता सम्झौताको पक्षमा नरहेको पनि बताए। उनले भने‚ “यो गठबन्धन त्यस्तो कुरामा लाग्दैन। हामी नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा विकास र समृद्धिका पक्षमा दृढतापूर्वक उभिन्छौं।”
दाहालले जो आत्मसमर्पण गर्छ उसैले नै यस्ता झूटको प्रचार गर्ने गरेको जिकिर गरेका छन्। “राष्ट्रवादको झूटो र पाखण्डी प्रचार गर्ने कसरत विगतमा पनि देखेका हौं‚” उनले भने‚ “जो सबभन्दा बढी आत्मसमर्पण गर्नतर्फ जान्छन्‚ उनीहरूले नै राष्ट्रवादको बढी हौवा फैलाउने गरेको अनुभव नेपाली जनतालाई छ।”
अध्यक्ष दाहालले एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले गरिसकेको दाबी गरेका छन्।