एसपीपीबारे बोल्यो सेना- ‘असंलग्न परराष्ट्र नीति बाहिर जाँदैनौं’
अमेरिकी सरकारसँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौता नहुने नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाले बुधबार प्रेस विज्ञप्ति जारी गरी एसपीपीका विषयमा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। सेनाले भनेको छ, “एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको।”
यससँगै सेनाले असंलग्न परराष्ट्र नीति विपरीत कुनै पनि देशको सेनासँग समझदारी नहुने जनाएको छ। सेनाले भनेको छ, “नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भूराजनीतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकूल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेको व्यहोरा सम्पूर्ण जनमानस तथा सञ्चार जगत्लाई जानकारी गराइन्छ।”
एसपीपी सम्झौता गर्न लागिएको समाचार आएपछि सेनाले यस विषयमा प्रष्ट पारेको हो। यस विषयमा प्रतिनिधि सभामा पनि सांसदहरूले प्रश्न उठाएका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एसपीपी सम्झौता नहुने बताएका थिए। उनले गठबन्धनको बैठकमा एसपीपी सम्झौता गर्ने कुनै योजना नभएको बताएका थिए।