पोखराबाट काठमाडौं उडेको जहाज जनकपुर डाइभर्ट
पोखराबाट काठमाडौंका लागि उडेको जहाज जनकपुर डाइभर्ट गरिएको छ।
आज दिउँसो पोखराबाट उडेको बुद्ध एअरको ‘९एन-एआईएम’ जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर पुगेको बुद्ध एअरका पोखरा म्यानेजर भुवनेश्वर त्रिपाठीले बताए।
“पोखराबाट साढे १ बजे उडेको थियो। काठमाडौंको मौसम खराब भएकाले अवतरण गर्न नसकेपछि जनकपुर पुगेको हो,” उनले भने, “बिहानैदेखि मौसम राम्रोसँग खुलेको छैन, पोखराका अन्य उडानहरू पनि मौसम खराबीका कारण उड्न सकेका छैनन्।”
उनका अनुसार, काठमाडौंको मौसम खुलेपछि जनकपुर पुगेको जहाज काठमाडौं जानेछ। “बिस्तारै मौसम खुलेको छ। अब केही समयमा जनकपुर पुगेको जहाज आजै काठमाडौं पुग्छ,” उनले भने।
पोखराबाट काठमाडौं उडेका यात्रुले पनि जहाज डाइभर्ट भएर जनकपुर पुगेको भन्दौ सामाजिक सञ्जाल फेसबूकमा फोटो पोस्ट गरेका छन्।