कालोधन प्रयोग रोक्न सरकारले माग्यो एक करोडभन्दा बढीको घरजग्गा किन्नेको विवरण
भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गा व्यवसायीसँग एक करोडभन्दा बढी मूल्यको घरजग्गा किन्नेको विवरण मागेको छ।
विभागले घरजग्गा व्यवसायीलाई मंगलबार निर्देशन जारी गर्दै एक करोड वा सोभन्दा बढीको घर जग्गा किनबेच गर्नेको विवरण विभागले तोकेको ढाँचामा सम्बन्धित मालपोत कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको हो।
त्यस्तै, शङ्कास्पद कारोबारको विवरण नेपाल राष्ट्र ब्यांकमा रहेको वित्तीय जानकारी एकाइमा तोकिएको ढाँचा, माध्यम र समयमा बुझाउन पनि निर्देशन दिएको छ। कालोधनलाई सेतो बनाउन घरजग्गा क्षेत्र प्रयोग भइरहेको भनी चर्चा चलिरहेका वेला विभागले किनबेचको विवरण मागेको हो।
नेपाल सरकारको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी राष्ट्रिय जोखिम मूल्याङ्कन प्रतिवेदनले घरजग्गा क्षेत्रलाई उच्च रूपमा सम्पत्ति शुद्धीकरण हुन सक्ने क्षेत्र औंल्याएको छ। यस सम्बन्धी नेपालको अन्तर्राष्ट्रिय पारस्परिक मूल्याङ्कन पनि भइरहेको सन्दर्भमा घरजग्गा कारोबारीलाई कारोबारको विवरण नियमित रूपमा बुझाउन विभागले निर्देशन जारी गरेको हो।
विभागका अधिकारीहरूले जोखिमका आधारमा घरजग्गा कारोबारीमाथि निरीक्षण, सुपरिवेक्षण र अनुगमन गर्ने पनि जनाएको छ। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम काम नगर्ने व्यवसायीलाई कानून बमोजिम कारबाही अघि बढाउने पनि विभागले जनाएको छ।