कसले कति तिर्नुपर्छ कर?
आगामी आर्थिक वर्षको बजेटसँगै करको दरमा गरिएको हेरफेर अनुसार आन्तरिक राजस्व विभागले तिर्नुपर्ने करको दर सार्वजनिक गरेको छ।
विभागका अनुसार, अविवाहितले पाँच लाखसम्म आम्दानीमा एक प्रतिशत मात्रै कर तिरे हुन्छ। त्यस्तै विवाहितले भने ६ लाखसम्म पनि एक प्रतिशतका दरले मात्रै कर तिरे हुन्छ। त्यो भनेको एकलले पाँच हजार र दम्पतीले ६ हजार मात्रै कर तिरे हुन्छ।
त्यस्तै, पाँच लाखदेखि सात लाखसम्म आय हुने अविवाहित र ६ लाखदेखि आठ लाखसम्म आय हुने दम्पतीले १० प्रतिशत अर्थात् २० हजार बराबर कर तिर्नुपर्छ।
सात लाखभन्दा बढी १० लाखसम्म करयोग्य आय हुने अविवाहित र आठ लाखदेखि ११ लाखसम्म करयोग्य आय हुने दम्पत्तीले समान २० प्रतिशत अर्थात् ६० हजार बराबरको कर तिर्नुपर्छ।
यस्तै, १० लाखभन्दा बढी २० लाखसम्ममा एकलले २० प्रतिशत अर्थात् तीन लाख बराबरको कर तिर्नुपर्छ। ११ लाखदेखि २० लाखसम्म करयोग्य आय गर्ने दम्पतीले ३० प्रतिशत अर्थात् दुई लाख ७० हजार बराबरको कर तिर्नुपर्छ।
यसै गरी २० लाखभन्दा बढी आम्दानी हुनेले समान रूपमा तीन लाख ६० हजार बराबरको कर तिर्नुपर्ने विभागले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ। विभागका अनुसार, ३० लाखभन्दा बढी आम्दानी हुने एकलले सात लाख ४५ हजार र दम्पतीले सात लाख १६ हजार बराबरको कर तिर्नुपर्छ।
एकलौटी रूपमा फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तिभरण बापतको आय, निवृत्तिभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने व्यक्तिको आयमा एक प्रतिशतको कर नलाग्ने विभागले स्पष्ट पारेको छ।
यस्तै, कुनै आय वर्षमा स्वीकृत अवकाश कोषको हिताधिकारी व्यक्तिले अवकाश कोषमा अवकाश योगदान गर्दा तीन लाख वा निजको निर्धारण योग्य आयका एक तिहाइ जुन घटी हुन्छ, सो रकमसम्म आफ्नो करयोग्य आयबाट घटाउन सक्नेछन्।
सामाजिक सुरक्षा कोषमा योगदान गर्ने कोषको हिताधिकारी व्यक्तिले सो कोषमा योगदान गर्दा पाँच लाख वा निजको निर्धारण योग्य आयको एक तिहाइमा जुन घटी हुन्छ सो रकमसम्म आफ्नो कर योग्य आयबाट घटाउन सक्ने प्रावधान छ।
यस्तै, दुर्गम क्षेत्रमा कार्यरत व्यक्तिले पनि करयोग्य आयबाट घटाउन पाउने रकम पनि निर्धारण गरिएको छ। क वर्गका क्षेत्रमा कार्यरतले ५० हजार, ख वर्गका क्षेत्रमा ४० हजार, ग वर्गका क्षेत्रमा ३० हजार, घ वर्गका क्षेत्रमा २० हजार र ङ वर्गका क्षेत्रमा कार्यरतले १० हजार बराबरको आयबाट घटाउन सक्नेछन्।
विदेशस्थित कूटनीतिक नियोगका कार्यरत कर्मचारीलाई प्राप्त हुने वैदेशिक भत्ताको ७५ प्रतिशत रकम करयोग्य आयबाट घटाउन पाउनेछन्। स्वास्थ्य बीमा बापत तिरेको प्रिमियम वा २० हजारमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने विभागले जनाएको छ।
निजी भवनको बीमा गरेको रहेछ भने पनि त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा पाँच हजारमा जुन घटी हुन्छ, त्यस्तो रकम पनि करयोग्य आयबाट घटाउन सकिन्छ।
विभागका अनुसार, महानगरपालिका वा उपमहानगरपालिकामा व्यवसाय गर्नेले सात हजार ५००, नगरपालिका क्षेत्रमा व्यवसाय गर्नेले चार हजार र त्यस बाहेकका क्षेत्रमा व्यवसाय गर्नेले दुई हजार ५०० बराबरको कर तिर्नुपर्छ।
ग्यास, चुरोट लगायत तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिले ३० लाखभन्दा बढी ५० लाखसम्म कारोबार रकमको ०.२५ प्रतिशत, ती व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिले ३० लाखभन्दा बढी ५० लाखसम्म कारोबार रकमको एक प्रतिशत बराबर कर तिर्नुपर्छ। (रासस)