निजगढ विमानस्थल बन्छ, म जे गर्न पनि तयार छु: अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल जसरी पनि बनाउने बताएका छन्।
शनिबार वीरगञ्ज उद्योग वाणिज्य संघको ४६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता गरेका हुन्। सर्वोच्च अदालतले निजगढमा विमानस्थल बनाउने सरकारका सबै निर्णय रद्द गरिसकेको छ। जेठ १२ गते सर्वोच्चको बृहत् पूर्ण इजलासले वातावरण विनाश हुने गरी निजगढमा विमानस्थल बनाउन नहुने र यसको विकल्प खोज्न सरकारलाई आदेश दिएको थियो।
तर, अर्थमन्त्री शर्माले भने जसरी भए पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बताएका हुन्। “निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसै वर्ष शुरू गर्ने हो,” अर्थमन्त्री शर्माले भने, “यसका लागि म जे पनि गर्न तयार छु।”
निजगढ विमानस्थल निर्माणका लागि धेरै रूख काट्न नपर्ने उनको भनाइ थियो। तर, कसरी रूख नकाट्ने भन्नेबारे भने केही बोलेनन्।
काठमाडौं-निजगढ द्रुतमार्ग भइरहेकाले पनि निजगढ विमानस्थल आवश्यक भएको उनको जिकिर थियो। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा आवतजावत गर्ने यात्रुलाई ल्याउन र मधेशलाई काठमाडौं जोड्ने सम्पर्क मार्गका रूपमा द्रुतमार्ग निर्माण भइरहेको उनको भनाइ थियो।
अब द्रुतमार्ग निर्माणको काम पनि छिटो गरिने उनले बताए। द्रुतमार्गको काममा ढिलाइ हुँदा लागत बढेको अर्थमन्त्रीको भनाइ थियो। “यसको शुरूआत हुँदा ७० अर्बमा बन्ने भन्ने थियो, अहिले दुई खर्ब ५० अर्ब पुगेको छ,” शर्माले भने।
त्यस्तै, वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना पनि सञ्चालन गरिने उनले बताए।