कर्णाली र सुदूरको खानेपानी र सरसफाइ सुधार्न विश्व ब्यांकको ९ अर्ब ९२ करोड ऋण
बहुपक्षीय ऋणदाता विश्व ब्यांकले नेपालको खानेपानी र सरसफाइ सुधारका लागि करीब आठ करोड अमेरिकी डलर (करीब रु.नौ अर्ब ९२ करोड) सहयोग गर्ने भएको छ।
विश्व ब्यांकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले बिहीबार ऋण दिने निर्णय गरेको ब्यांकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। नेपालको खानोपानीको पहुँच विस्तार, सरसफाइको गुणस्तर सुधार तथा एकीकृत जलस्रोत व्यवस्थापनका लागि यो ऋण सहयोग दिन लागिएको हो।
ब्यांकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि आवासीय देशीय निर्देशक फारिस हदाद जर्भोसले भने, “नेपालको अर्थतन्त्रको विस्तारमा बाधा पुर्याइरहेको खानेपानी र सरसफाइका पूर्वाधारको गुणस्तर सुधारका लागि यो सहयोग दिन लागिएको हो।”
कर्णाली र सुदूरपश्चिमका रणनीतिक शहर र गाउँपालिकामा जल क्षेत्र सुशासन र पूर्वाधार सहयोग परियोजना अन्तर्गत यो रकम खर्च गरिनेछ। यी दुवै प्रदेशमा खानेपानी र सरसफाइको पूर्वाधार कमजोर, उच्च गरीबी तथा जलवायु परिवर्तनको ज्यादा प्रभाव छ।