राजनीतिक दबाबमा होइन, उत्कृष्टताका आधारमा सरुवा-बढुवा: महानिरीक्षक
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले राजनीतिक दबाबले भन्दा पनि उत्कृष्टताका आधारमा प्रहरी कर्मचारीको सरुवा-बढुवा हुने बताएका छन्।
महानिरीक्षक नियुक्त भएको एक महीनापछि बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटमा बोल्दै सिंहले भने, “राजनीतिक दबाबमा होइन, उत्कृष्ट र कार्यदक्षता हेरेर नै सरुवा-बढुवा हुनेछ।”
अन्य कारणबाट गरिएको बढुवाले सङ्गठनको श्रीवृद्धिमा सहयोग नगर्ने उनको भनाइ थियो। मिडियामा आएका कतिपय कुरामा सत्यता नभएको उनको जिकिर थियो।
महानिरीक्षक सिंहले सङ्गठन प्रमुख फेरिंदैमा प्राथमिकता नफेरिने बताए। आफूले विगतका योजना कार्यान्वयनमा ध्यान दिएको उनले बताए।
प्रहरी महानिरीक्षक सिंहले सङ्गठनको निष्पक्षतामा कुनै सम्झौता नहुने र प्रहरीको नियमभन्दा बाहिर जाने कारबाहीको भागीदार हुने बताए।
प्रहरीले जाहेरी लिन आनाकानी गरिरहेको विषयमा सोधिएको प्रश्नमा महानिरीक्षक सिंहले अपराध संहितामा प्रहरीले जाहेरी लिनुपर्ने कुरा स्पष्ट उल्लेख रहेको बताए। कुनै प्रहरी कार्यालयले जाहेरी नलिएमा त्योभन्दा माथिल्लो कार्यालय वा प्रशासन कार्यालयमा जाहेरी दिन सकिने स्मरण गराए।