तारा एअर दुर्घटनाः थप १० जनाको शव काठमाडौं पठाउने तयारी‚ एक अझै बेपत्ता
मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव आज बिहान गाउँपालिका केन्द्र कोबाङ ल्याइएको छ।
मानापाथी हिमालको फेदीमा सङ्कलन गरिएका शवलाई कैलाश एअरको हेलिकोप्टर मार्फत कोबाङ ल्याइएको हो। मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले भीरमा अड्किएको एउटा शव निकाल्ने प्रयास र बेपत्ता एक जनाको खोजी जारी रहेको जानकारी दिए।
“सोमबार नेपाली सेनाको हेलिकोप्टरले १० शव काठमाडौं लगिसकेको छ‚” उनले भने, “आज घटनास्थलबाट कोबाङ ल्याइएका शवलाई पनि काठमाडौं पठाउने तयारीमा छौं।”
चालक दलका तीन जना सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९:५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको नाइन–एनएइटी जहाज हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
भौगोलिक रूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भीरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोबाङमा ल्याउन ढिलाइ भएको हो। थासाङ गाउँपालिकाको केन्द्र कोबाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिंड्नुपर्छ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी गरी करीब १०० जना घटनास्थल पुगेका थिए। अरू मानिस फर्किए पनि उद्धारका लागि तालीमप्राप्त सेना र प्रहरीका १४ जना सुरक्षाकर्मी सानोसरेमा पाल टाँगेर बसेका थिए। घटनास्थल पुगेर फर्किएका स्थानीयवासी इन्द्रसिंह शेरचनले जहाजको पखेटा पहाडमा ठोक्किएर तल झरेको हुन सक्ने बताए।
“जहाज भिरालो पाखोमा ठोक्किएर तल खोंचमा खसेको देखिन्छ‚” उनले भने, “शवहरू धार परेको डाँडामा वल्लोपल्लो पाखामा छरिएका थिए। केही तल्लो डिलमुनि पुगेका थिए।”
सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बाग्लुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए। इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि उनले प्रहरीलाई घटनास्थलको फोटो र भिडिओ पठाएका थिए। -रासस