औद्योगिक पूर्वाधार निर्माणका लागि तीन अर्ब ७९ करोड विनियोजन
सरकारले औद्योगिक पूर्वाधार निर्माणका लागि तीन अर्ब ७९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटमा चितवनको शक्तिखोर लगायत सम्भावित क्षेत्रमा सार्वजनिक, साझेदारी तथा निजी औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गरिने बताए।
यस्तै‚ घोषणा भएका १०५ वटा औद्योगिक ग्रामलाई तीनै तहका सरकारको सम्झेदारीमा सञ्चालनमा ल्याइने बताएका छन्। बाँकी स्थानीय तहमा औद्योगिक ग्राम स्थापनाका लागि आवश्यक तयारी थालिने बजेटमा उल्लेख गरिएको छ।
सरकारले दमक, मोतीपुर, दैजी र नौवास्तामा औद्योगिक पूर्वाधार निर्माणका लागि पनि बजेट विनियोजन गरेको छ। भैरहवा, सिमरा, विशेष आर्थिक क्षेत्रलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइने जनाइएको छ। काभ्रेको पाँचखालस्थित विशेष आर्थिक क्षेत्रको निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने बताइएको छ। सुदूरपश्चिमको हरैया र प्रदेश १ को सुनसरीमा विशेष आर्थिक क्षेत्र निर्माण शुरू गरिने जनाइएको छ।