पाँच वर्षमा नेपालीको औसत आम्दानी २०४ डलर बढ्यो
गत पाँच वर्षमा हरेक वर्ष नेपालीको औसत आम्दानी आठ हजार पाँच सय रुपैयाँका दरले मात्रै बढेको देखिएको छ।
पाँच वर्षअघि २०७४ सालको स्थानीय निर्वाचनको घोषणापत्र मार्फत प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नेपालीको औसत प्रति व्यक्ति आय दश वर्षभित्रै पाँच हजार डलर पुर्याउने सपना देखाएको थियो। सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले पनि अधिकांश नेपालीलाई मध्यम वर्गमा उकास्ने आकाङ्क्षा बाँडेको थियो।
तर, बितेका पाँच वर्षमा नेपालीको औसत आम्दानी २०४ डलरले मात्रै बढेको देखिएको छ। केन्द्रीय तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्कका अनुसार, आगामी असारसम्म नेपालीको औसत प्रति व्यक्ति आय एक हजार ३७२ अमेरिकी डलर पुग्नेछ। यो पाँच वर्षअघि २०७४ को असारमा एक हजार १६८ डलर थियो।
बितेको एक वर्षमा नेपालीको औसत आम्दानी १३३ डलरले बढेको अनुमान छ। आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म नेपालीको औसत आम्दानी एक हजार २३९ डलर रहेको अनुमान छ।
नेपाली रुपैयाँमा हिसाब गर्दा, गत पाँच वर्षमा औसत नेपालीको आम्दानी ४२ हजार ७५३ रुपैयाँ मात्रै बढेको देखिएको छ। अर्थात्, औसतमा हरेक वर्ष नेपालीको औसत आम्दानी आठ हजार पाँच सय रुपैयाँका दरले मात्रै बढेको देखिएको छ।
अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यनका कारण अमेरिकी डलरमा भन्दा नेपाली मुद्रामा औसत आम्दानी बढेको देखिएको हो। गत एक वर्षको अवधिमा नेपालीको औसत आम्दानी १२.३४ प्रतिशतले बढेको छ।
विभागका अनुसार, आगामी असारसम्म नेपालीको औसत आम्दानी एक लाख ६४ हजार ५९८ रुपैयाँ पुग्नेछ। यो पाँच वर्षअघि एक लाख २१ हजार ८६३ रुपैयाँ थियो।
भूकम्प र कोभिड-१९ को महामारीका बीचमा पनि बितेको दशकमा नेपाली औसत आम्दानी हरेक वर्ष झण्डै दोहोरो अङ्कले वृद्धि भएको देखिएको छ। बितेको एक दशकमा नेपालीको औसत आय हरेक वर्ष सरदर ९.७४ प्रतिशतले बढेको केन्द्रीय तथ्याङ्क विभागको बिहीबार सार्वजनिक गरिएको राष्ट्रिय लेखा तथ्याङ्कले देखाएको छ।
बितेको दशकमा देशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर न्यून भए पनि औसत आम्दानीको वृद्धिदर भने उच्च देखिएको हो। गत दशकमा नेपालको वार्षिक औसत आर्थिक वृद्धिदर ४.५ प्रतिशत मात्रै छ।