मेयर र उपमेयरमा पुरुष उठेकाे विरोधमा कांग्रेस नेत्रीको उम्मेदवारी
नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि प्रमिला सुवेदी आचार्यले मेयर र उपमेयर दुवै पदमा पुरुष उम्मेदवार उठाएको भन्दै भक्तपुरको मध्यपुर थिमिकाे उपमेयरमा स्वतन्त्र उम्मेद्वारी दर्ता गरेकी छन्।
आचार्य कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुन्। उनी उपमेयरको आकाङ्क्षी थिइन्। तर, गठबन्धनको भागबण्डा मिलाउन कांग्रेसलाई मेयर र नेकपा (माओवादी केन्द्र) लाई उपमेयरको कोटा बाँडिएको थियो। कांग्रेसले मेयरमा सुरेन्द्र श्रेष्ठ र माओवादी केन्द्रले उपमेयरमा विजय श्रेष्ठलाई उम्मेदवार बनाएको छ।
आचार्यले कांग्रेसको विचार बोक्ने समूहलाई प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी दिएको दाबी गरेकी छन्। आचार्यको विज्ञप्तिमा उल्लेख छ‚ “मेरो कांग्रेसको उम्मेदवार विरुद्ध उम्मेदवारी हैन‚ साँच्चै भन्ने हो भने नेपाली कांग्रेसको विचार बोक्ने समूहलाई प्रतिनिधित्व गर्दै मैले उपप्रमुख पदमा उम्मेदवारी दिएकी हुँ।”
स्थानीय तहमा छलफल नै नगरी पार्टीले कार्यकर्ताहरूको भावना विपरीत माओवादीलाई समर्थन गर्न लगाएको र मेयर तथा उपमेयर दुवै पदमा पुरुष उम्मेदवार बनाएर समावेशिताको धज्जी उडाएको उनको आरोप छ।
चुनावी तालमेलले गर्दा मेयर वा उपमेयर फरक लिंगको हुनुपर्ने कानूनी व्यवस्थाको समेत दलहरूले वेवास्ता गरेका छन्।