‘स्थानीय चुनावमा सामाजिक सञ्जालको दुरुपयोग हुन सक्छ’
स्थानीय चुनावमा सामाजिक सञ्जालको दुरुपयोग हुन सक्ने एक कार्यक्रमका वक्ताले बताएका छन्।
शुक्रबार पाटनढोकास्थित यलमाया केन्द्रमा हिमालमिडियाले आयोजना गरेको ‘तपाईंसँग हिमाल संवाद’ को नवौं शृङ्खलाका वक्ताले आगामी स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालमा राखिने सामग्रीको प्रयोगले प्रभाव पार्न सक्ने औंल्याएका हुन्। ‘स्थानीय निर्वाचन र सामाजिक सञ्जाल’ विषयक संवादमा वक्ताले निर्वाचनका वेला राजनीतिक दल र उम्मेदवारले पनि सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री राखेर मतदातालाई प्रभावित गर्न कोशिश गर्ने बताएको छन्।
राजनीतिकर्मी मानुषी यमी भट्टराईले पछिल्लो समय राजनीतिक गतिविधिको प्रचार गर्न सामाजिक सञ्जालको प्रयोग बढ्दै गएकाले चुनावको वेला पनि प्रयोग हुने बताइन्। तर‚ नेपालमा चुनावी प्रचारप्रसारका लागि सामाजिक सञ्जालको मात्रै भर पर्ने अवस्था नभएको उनको भनाइ थियो।
कार्यक्रममा साउथएशिया चेकका सम्पादक दीपक अधिकारीले चुनावका वेला उपलब्धि लिने होडबाजी हुने भएकाले राजनीतिक दल र उम्मेदवारले सामाजिक सञ्जालको भरपुर प्रयोग गर्ने बताए। यस्तो अवस्थामा गलत र भ्रामक कुरा फैलाउने सक्ने भएकाले सचेत हुनुपर्ने उनको भनाइ थियो।
“उपलब्धि हासिल गर्ने होडबाजीमा सामाजिक सञ्जाल मार्फत गलत र भ्रामक कुराहरू पनि फैलाइएको पाइएको छ‚” अधिकारीले भने, “जसरी हुन्छ आफ्नो दलको बढाइचढाइ गरी विपक्षी दलको आलोचना गर्ने प्रवृत्तिले जनतामा भ्रम फैलाउने काम भएको छ। अहिले सामाजिक सञ्जाल पनि हतियार जसरी प्रयोग हुँदै छ।”
त्यस्तै, निर्वाचन रणनीतिका जानकार समृद्ध घिमिरेले नेपालमा ठूलो सङ्ख्याका मानिसहरूले सामाजिक सञ्जाल प्रयोग गर्ने भएकाले चुनावमा पनि प्रयोग हुने बताए। चुनावमा विशेष गरी तथ्याङ्क विश्लेषण गरेर रणनीति बनाइने भएकाले सामाजिक सञ्जाल पनि मतदाता प्रभावित गर्न प्रयोग हुने उनको भनाइ थियो।
“चुनावमा धेरैजसो डेटा र प्रविधिको प्रयोग हुने गरेको छ। अहिले डेटा अपरिहार्य भइसकेको छ,” घिमिरेले भने।
पहिलेदेखि नै तथ्याङ्कको विश्लेषण गर्न थालिएको उनले उल्लेख गरे। “१९९१ सालदेखि नै पशुपतिशमशेर जबराले भोटलाई कसरी लक्षित गर्ने भनेर डेटा सङ्कलन गरेर विश्लेषण गर्ने रणनीति बनाएका थिए,” घिमिरेले भने, “अहिले इन्टरनेटको पहुँचले सहज मात्र भएको हो, नेपालको राजनीतिमा पहिलेदेखि नै चुनावको तथ्याङ्कलाई विश्लेषण गर्ने र सोही अनुसार रणनीति बनाउने काम भइरहेको छ।”
हिमालमिडियाले प्रत्येक महीनाको पहिलो साता ‘तपाईंसँग हिमाल संवाद’ आयोजना गर्दै आएको छ।